जातीय विभेदविरुद्धको फिल्ममा ‘द बास्केट’ उत्कृष्ट

रंग नेपाल २०७९ जेठ १७ मा प्रकाशित

जातीय विभेद विरुद्धको फिल्ममा ‘द बास्केट’ उत्कृष्ट भएको छ । नेपाल चलचित्र निर्देशक समाजद्वारा कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्रालय र युनडीपीसँगको सहकार्यमा घोषणा भएको लघु चलचित्र प्रतियोगितामा ‘द बास्केट’ उत्कृष्ट भएको हो । फिल्मले २ लाख नगदसहित उत्कृष्ट पुरस्कार पाएको छ । चलचित्र विकास बोर्डमा हालै आयोजित एक कार्यक्रममा उक्त पुरस्कार वितरण गरिएको हो । 

दर्शकले पनि मत दिनेगरी आयोजित प्रतियोगितामा ५६ फिल्ममध्ये २० फिल्मलाई आयोजकले सामाजिक सञ्जालमा उपलब्ध गराएको थियो । यसरी दर्शकको ५० प्रतिशत अंक भार र जुरीको ५० अंक भार जोडी चार विजेता छनोट गरिएको हो । जुरीले सर्ट लिस्ट गरेका २० फिल्मबाट सुरेन्द्र प्रजापतिको ‘शून्य’  दोस्रो, राजेश श्रेष्ठको ‘नयाँ जुत्ता’ तेस्रो र शर्मा क्रिएसनको ‘अछोप’ले सान्त्वना पुरस्कार पाएको छ । 

अवार्डमा विजेता ४ फिल्मसँगै निर्णायकले छानेका १६ फिल्मका सहभागीलाई सहभागिताको प्रमाणपत्र पनि वितरण गरिएको थियो । निर्देशक समाज र युनडीपीले जातप्रथा र यसको उन्मुलनका उपाय समेटिएका कथा ३ मिनेट भित्रमा प्रस्तुत गर्नुपर्ने गरी गत डिसेम्बरमा सूचना प्रकाशित गरेका थिए ।

कानुन न्याय, तथा संसदीय व्यवस्था मन्त्रालयका सह सचिव फणीन्द्र गौतम, वरिष्ठ निर्माता÷निर्देशक तथा कलाकार नीर शाह, चलचित्र निर्देशक समाजका महासचिव जनकदीप पराजुली, कलाकार लक्ष्मी बर्देवा, ए टु जेड प्रोजेक्ट म्यानेजर वसन्त अधिकारी र युएनडीपीका प्रमुख सूचना अधिकृत कमलराज सिग्देल सम्मिलित निर्णायक मण्डलले समितिलाई प्राप्त ५६ फिल्मबाट २० फिल्म छानेका थिए । 

प्रतियोगितामा दोस्रो हुनेले १ लाख ५० हजार र तेस्रो हुनेले  ५० हजार र चौथो हुनेले २५ हजार रूपैँया प्राप्त गरे ।

धेरै पढिएका

पछिल्ला अपडेट