यसरी बच्नुस् नाइरोबी फ्लाई (एसिड बग)को संक्रमणबाट

रंग नेपाल २०७९ असार २५ मा प्रकाशित

-एसपी उप्रेती

काठमाडौँ । अफ्रिकी किरा नाइरोबी फ्लाई अर्थात एसिड बग नेपालका झापासहितका पूर्वी तराईमा देखा पर्न थालेको छ ।

यसको शरीरमा हुने कडा एसिडका कारण मानिसको छालामा संक्रमण देखिन थालेको छ ।

झापामा दिनहुँ सयौँको संख्यामा नाइरोबी फ्लाई किराको एसिडका कारण छालामा संक्रमण भएर उपचारका लागि आउने गरेको चिकित्सकहरु बताउँछन् ।

झापाको दमक, बिर्तामोडका क्षेत्रहरुमा यस किरा तीव्र रुपमा फैलिएको बताइन्छ ।

त्यस्तै, काठमाडौँमा पनि नाइरोबी फ्लाइ किराका कारण संक्रमण हुन थालेको छ ।

नाइरोबी फ्लाई बिटल्स प्रजातिको किटाणु (किरा) हो । विश्वभर बिटल्सका ३ लाख ७० हजारभन्दा बढी प्रजाति छन् । तीमध्येको नाइरोबी फ्लाई एक किरा हो । यो हरेक वर्षाको मौसममा देखिन्छ ।

ति किराहरु सुन्तला र कालो रंगका हुन्छन् र उच्च वर्षा हुने क्षेत्रहरूमा बढि देखिन्छन् । वर्षायाममा किराहरुको प्रजनन धेरै हुने भएकाले संक्रमणको जोखिम पनि रहने गर्दछ ।

किराहरु सडेगलेका तरकारी, जनावर, बोटविरुवामा बस्ने रुचाउँछन् । विज्ञहरुका अनुसार यी किराले टोक्दैनन्, तर यदि कसैको छालामा त्यसलाई चलाएको अवस्थामा तिनीहरूले एक शक्तिशाली अम्ल (एसिड) छोड्छ जुन छालाको लागि हानिकारक हो ।

यो किराको एसिड छालामा छोडियो वा किरालाई माड्दा छालामा रातो हुने, पोल्ने, फोका आउने हुन्छ । धेरै चिलाएमा भने यसले अरुतिर संक्रमण गराउन सक्छ । कन्याउँदा दाग र खतसमेत बस्छ ।

किराको एसिडको संक्रमणबाट लक्षणहरु १२ घण्टादेखि २ दिनसम्म देखापर्छन् । यसको एलर्जी निको हुन १ देखि २ हप्ता लाग्छ र आफैं निको भएर जाने चिकित्सकहरु बताउँछन् ।

वास्तवमा किराको टोकाइले नभइ किरा माड्दा त्यसले उत्पादन गर्ने ‘पेड्रिन’ भन्ने टक्सिनले मानव शरीरमा लक्षण देखाउने चिकित्सकहरुको भनाइ छ ।

हाल सामाजिक सञ्जालमा अहिले यस किराको बारेमा विभिन्न भिडियोहरु भाइरल भइरहेको छ ।

यद्यपि किराबाट जटिलता भने नहुने चिकित्सक बताउँछन् । घाउ देख्दा जनै खटिरा जस्तो ठूला ठूला फोका देखिए पनि आत्तिनु नपर्ने चिकित्सकहरुको भनाइ छ । यसले जटिलता ननिम्त्याउने बताइन्छ ।

यसको संक्रमण हो होइन भन्नलाई बायोप्सी गर्नुपर्ने वा लक्षणबाट पनि यकिन गर्न सकिने चिकित्सकहरु बताउँछन् ।

तराईका विभिन्न अस्पतालले नाइरोबी फ्लाई किराको कारण समस्या बढ्न थालेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखालाई जानकारी गराएका छन् ।

यद्यपि चिकित्सकहरुका लागि पनि यो नयाँ विषय भएको र अनुसन्धान भइरहेको बताइएको छ ।

तर यदि किराको एसिड शरीरमा बढी फैलिएको छ र ज्वरो, स्नायु दुखाइ, जोर्नी दुखाइ वा वान्ता हुन सक्छ भने थप गम्भीर सम्म बनाउन सक्ने बताइन्छ ।

त्यस्तै, संक्रमित एसिड हात आँखामा रगड्दा सम्भावित रूपमा अस्थायी अन्धोपन समेत हुन सक्ने चिकित्सकको भनाइ छ ।

अब कसरी जोगिने त ?

नाइरोबी किराहरु प्रकाशमा आकर्षित हुने भएकाले घना बस्ती भएका क्षेत्र प्रकाश झलमल्ल हुने सडक बत्तीहरु भएको क्षेत्रमा रहन्छन् ।

सकेसम्म किरासँग सम्पर्कमा नआउनका लागि झ्यालमा जाली लगाउने, ओछ्यान झुलको प्रयोग गर्ने, लामो बाहुला भएका लुगाको प्रयोग र राती वरपर भएका बत्ती बन्द गर्ने गर्नुपर्छ ।

यदि शरीरमा किरा बस्यो भने त्यसलाई नमार्ने अथवा थिच्ने नगर्ने फुकेर हटाउन सकिन्छ वा एकै झट्कामा हटाउँदा पनि हुन्छ । किरा बसेको ठाउँलाई ठाउँलाई साबुन र पानीले धुनुपर्छ । नधोइएका हातहरूले शरीरको कुनै पनि भाग, विशेष गरी आँखालाई छुने गर्नुहुँदैन ।

यसको लागि खास उपचार छैन । किराले टोकेपछि एलर्जीको औषधि प्रयोग गर्नुपर्छ । घाउ धेरै भएको खण्डमा एन्टिबायोटिक पनि चलाउनु पर्ने चिकित्सकहरु बताउँछन् ।

सन् १९९८ मा असामान्य रुपमा भारी वर्षा भएका कारण केन्या र अफ्रिकामा प्रकोप भएको थियो । हालसम्म यसको संक्रमिण अफ्रिका बाहिर जापान, इजरायल, पाराग्वे र विगतमा भारतमा देखिन थालेको छ । हाल भारतबाट नेपालमा किरा ठूलो संख्यामा प्रवेश गरेको आंकलन गरिएको छ ।

धेरै पढिएका

पछिल्ला अपडेट