राजनीतिक ‘डेब्यु’मा फ्लप फिल्मकर्मी

रंग नेपाल २०७९ साउन ४ मा प्रकाशित

काठमाडौं। नेपाली फिल्म उद्योगमा सफल–असफलको यात्रा तय गरेका कलाकारहरूले राजनीतिक बाटोमा भने गतिलो लय समात्न कठिन देखिएको छ।

नेपाली कला क्षेत्रमा नै उच्चतम सृजना पस्किन नसकेका उनीहरूले कमाएको साधारण लोकप्रियताले राजनीतिमा गतिलो स्पेशचाहिँ पाउन नसकेका उदाहरण प्रशस्त छन्।

राजनीतिक नियुक्तिबाहेक सक्रिय राजनीतिमा गतिलो प्रदर्शन गर्न नसक्नेमा पर्छिन् अभिनेत्री रेखा थापा। उनले कुनै बेला नेकपा माओवादीको खुबै प्रचार गरिन्।

तत्कालिन प्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध माओवादीले सिंहदरबार घेराउ आन्दोलन गर्दा पुष्पकमल दाहाल प्रचण्डसँग ठुम्का लगाएका कारण गसिपको पात्र बनेकी उनी राप्रपा नेपाल हुँदै राप्रपाको राजनीतिमा पुगिन्।

तर पछिल्लो महाधिवेशनमा महामन्त्री पदमा उनको पराजयले स्पष्ट संकेत दियो कि, फिल्मकर्मी राजनीतिक डेब्युमा सफल हुने अवस्था नेपालमा बनिसकेको छैन।

बलिउडमा सर्वाधिक रुचाइएका कलाकार राजनीतिमा जसरी सफल भए नेपाली कलाकार पनि त्यहि बाटो समात्नेगरी अघि बढ्ने प्रयत्नमा छन् तर जगमा नै असफल भइसकेका छन्।

बलिउड स्टार अमिताभ बच्चन पत्नी जया बच्चन, सनी देवल, हेमा मालिनी, गोविन्दा, शत्रुधन सिन्हा जसरी राजनीतिमा एउटा समय सफल भइसकेका छन्, नेपाली कलाकारले त्यो ओज पाउन सकेनन्।

अभिनेत्री करिश्मा मानन्धरले डा. बाबुराम भट्टराईको तत्कालिन नयाँ शक्ति नेपालबाट राजनीतिमा डेब्यु त गरिन् तर फ्लप भइन्। पछिल्लो पटक भने उनी नेकपा एमालेसँग आवद्ध छिन्। एमालेमा आएपछि उनका केही भाषण गसिपका कारण बने। ‘न्वारानको नाम सुर्यकुमारी’ भन्दा उनलाई सामाजिक सञ्जालमा ट्रोल बनाइएको थियो।

त्यसैगरी लामो समय अमेरिका बसेर नयाँ शक्तिबाट नै राजनीतिक डेब्यु गरेका सरोज खनाल पनि असफल भएपछि अहिले कृषि अभियानतिर सक्रिय छन्।

सदाबहार नायकका रुपमा स्थापित भुवन केसी एमालेको राजनीतिबाट चलचित्र विकास बोर्डको अध्यक्षका लागि नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। उनी पनि कुनै सफल राजनीतिज्ञ बन्न सकेका छैनन्।

गायिका कोमल वली राप्रपाबाट पार्टी परिवर्तन गरी एमालेमा आइन्, अध्यक्ष केपी शर्मा ओलीले ल्याएको विशाल जनमतका आधारमा राष्ट्रिय सभा सदस्यका लागि उचित ठानियो। तर, उनी पनि बीचमा विवादमा फँसेर लोकप्रियता गुमाउनेमा पर्छिन्।

अन्य धेरै कलाकारले अहिले राजनीतिक बाटो रोज्ने अपेक्षा गरेका छन्। स्वतन्त्रका नाममा वा स्वतन्त्र पार्टीको सदस्यका रुपमा कलाकार मैदानमा उत्रिने तयारी त भएको छ तर उनीहरूलाई जनताले अनुमोदन गर्छन् कि गर्दैनन् भन्नेचाहिँ प्रश्न खडा भएको छ।

धेरै पढिएका

पछिल्ला अपडेट