बंगलादेशमा फोटो ​​पत्रकारितासम्बन्धी अन्तरक्रिया, नेपालका फोटो पत्रकार वन्तले सुनाए अनुभव

रंग नेपाल २०७९ साउन ८ मा प्रकाशित

बंगलादेश । नेपालका अग्रज फोटो पत्रकार, राष्ट्रिय फोटो पत्रकार समुह नेपाल (एनएफपीजे) का अध्यक्ष प्रदीपराज वन्तले बंगलादेशमा पुगेर फोटो पत्रकारिताकाका विविध आयाम र चुनौतीका बारेमा आफ्ना अनुभव सुनाएका छन् ।

बंगलादेशस्थित जहाँगिरनगर विश्वविद्यालयको ​​पत्रकारिता तथा सञ्चार अध्ययन विभागद्धारा ढाकामा आयोजित फोटो पत्रकारिताका सम्बन्धमा विशेष अन्तक्रिया कार्यक्रममा उनले विश्व र नेपालको फोटो पत्रकारिताको अवस्था, कोभिड १९ तथा यस्ता महामारीका विषयमा फत्रकारले भोग्नुपरेका चुनौती र फोटो पत्रकारको भूमिकाका विषयमा जानकारी दिएका थिए ।

विश्वविद्यालयको पत्रकारिता तथा मिडिया अध्ययन विभागको कक्षमा आइतबार आयोजना गरिएको गोष्ठीका प्रमुख वक्ताका रुपमा कार्यक्रममा सहभगी एनएफपीजेका अध्यक्ष वन्तले पत्रकारले कठिन समयमा कसरी सङ्घर्षका साथ काम गर्नुपर्छ भन्ने बारेमा अनुभव सुनाएका थिए ।

कोभिड–१९ मात्र होइन, कुनै पनि अप्ठ्यारो अवस्थामा पत्रकारले काम गर्नुपर्ने भएकाले जस्तो सुकै परिस्थितिमा पनि पेशागत मर्यादालाई भूल्न नहुनेमा उनको जोड थियो ।

अध्यक्ष वन्तले कोरोनाकालमा नेपाली फोटो पत्रकारले खेलेको भूमिका र उनीहरुमा परेको विभिन्न समस्याका बारेमा समेत जानकारी गराएका थिए ।

उनले भने, ’कोभिडको समय फोटो पत्रकारका लागि धेरै गाह्रो थियो, त्यसबेला हामीले धेरै जोखिम उठायौँ, सुरुका दिनमा जब कोभिड लागेका विरामीको फोटो खिच्न जान्थेंँ, मसँग कुनै सुरक्षा उपकरण थिएन, जोखिम मोलेरै काम गरेँ ।’

उनले फोटो पत्रकारलाई मात्रै होइन हाम्रो संस्था एनएफपिजेबाट पनि नागरिकलाई सहयोग गर्ने प्रयास गरेको जानकारी गराए । कोभिडको खोप उपलब्ध हुन नसकेका पत्रकारलाई खोप उपलब्ध गराउन सक्रिय भएर लागेको पनि उनले बताए ।

कार्यक्रममा पत्रकारिता अध्ययन गरिरहेका विद्यार्थीसँग अन्तरक्रिया समेत गरिएको थियो ।

अन्तरक्रियका क्रममा राष्ट्रिय फोटो पत्रकार समुह नेपाल (एनएफपीजे) का कोषाध्यक्ष सागर श्रेष्ठले फोटो पत्रकारिता गर्दागदै आफूलाई दुई पटक कोभिड संक्रमण भएको भन्दै आफ्नो अनुभवहरु सुनाएका थिए ।

विश्वविद्यालयका पत्रकारिता तथा सञ्चार अध्ययन विभागकी सहप्राध्यापक सलमा अहमदले सञ्चालन गरेको सेमिनारको अन्त्यमा सहभागीहरुसँग नेपालको फोटो पत्रकारिता र समग्र फोटो पत्रकारिताको अवस्थाका विषयमा प्रश्नोत्तर समेत भएको थियो ।

उनले विद्यार्थीहरुले राखेका विभिन्न जिज्ञासा मेटाएका थिए । कार्यक्रममा नेपालको ऐतिहासिक तस्विरसमेत प्रदर्शन गरिएको थियो ।

धेरै पढिएका

पछिल्ला अपडेट