‘सम्झना बिर्सना’ भारतमा प्रदर्शन हुने, ७ सेप्टेम्बरमा दार्जीलिङमा प्रिमियर शो

रंग नेपाल २०७९ भदौ १३ मा प्रकाशित

खरसाङ, १३ भदौ । नेपालका नायिका पूजा शर्मा र नायक आकाश श्रेष्ठ अभिनित चलचित्र सम्झना बिर्सना आगामी ९ सेप्टेम्बरदेखि भारतका सिनेमा घरहरुमा प्रदर्शनमा आउने भएको छ ।

चियाबारीको सङ्घर्षमय जीवनलाई आधार बनाएर निर्मित चलचित्र ‘सम्झना बिर्सना’मा शर्मा र श्रेष्ठ मुख्य पात्र छन् । खरसाङमा ‘गडवीन’ स्कूल स्थापना गरेर शिक्षालाई विस्तार गरिरहेका अनि गोर्खा सांस्कृतिक संस्थानमा आजीवन सदस्य रहेर सामाजिक कार्यमा सहयोग गर्दै आएका अद्वित्य प्रधान र उनका श्रीमती रेबेका प्रधानले यो चलचित्र निर्माण गरेका हुन् । यस चलचित्रका निर्देशक दार्जीलिङ पहाडकै सेलेमबोङ चियाबगानका युवा निमेष प्रधान रहेका छन् भने कथा पनि उनकै हो ।

नेपालका सिनेमा घरहरुमा यो चलचित्र १५ जुलाईदेखि नै प्रदर्शन भइसकेको छ । अब यता भारतका सिनेमा घरहरुमा प्रदर्शन हुनअघि आइतबार खरसाङमा प्रोमोसनको लागि गोर्खा सांस्कृतिक संस्थानले विशेष पत्रकार सम्मेलन आयोजना गरेको हो ।

संस्थानकी अध्यक्ष आशा लामा मुखियाले ‘सम्झना बिर्सना’ चलचित्रले दार्जीलिङ पहाडको चियाबारीको समस्यालाई उजागर गर्नका साथै यहाँको पर्यटनको क्षेत्र र दार्जीलिङको सानो रेलको विश्वव्यापी प्रचारमा थप सहयोग पुग्ने बताइन् । रोजगारको लागि पनि चलचित्र सशक्त माध्यम रहेको उनले आफ्नो विचार प्रकट गरिन् ।

संस्थानका शीर्ष सदस्य हेमन्त दर्नालले चलचित्रको बारेमा बताए ।
नेपालमा तीन हप्ता चलचित्र सफलतापूर्वक चलेपछि दुई निर्माता अद्वित्य प्रधान र रेबेका प्रधानलाई फेरि अर्को पनि चलचित्र निर्माण गर्ने जाँगर चलेको देखियो । सन् २०१६ देखि नै ‘सम्झना बिर्सना’को योजना चलिरहेको अद्वित्य प्रधानले बताए ।

उनले बताएअनुसार आउँदो ७ सेप्टेम्बरमा दार्जीलिङमा प्रिमियर शो हुनेछ । पहिलो चरणमा दार्जीलिङ, कालेबुङ, खरसाङ, गान्तोक (सिक्किम), सिलगढी र डुवर्सको मालबजारमा प्रदर्शन हुनेछ । यसपछि दोस्रो चरणमा उत्तरपूर्वी राज्य असममा जाने उनले बताए । चलचित्रका निर्देशक एवं पटकथाका लेखक निमेष प्रधान आफू स्वयंले चियाबगानको सङ्घर्षमय जीवनलाई देख्दै आएका हुनाले ‘सम्झना बिर्सना’को आधार पनि यसैलाई बनाएका छन् ।

मुम्बई बसेर भारतका राष्ट्रिय च्यानल सोनी टीभीमा चल्ने लोकप्रिय धारावाहिक सीआईडी र क्राइम पेट्रोलमा साउण्ड इन्जीनियरको काम गरेर राम्रो अनुभव बटुलेका युवा निर्देशक हुन् निमेष प्रधान ।

यसबाहेक उनले लघु चलचित्र ‘थर्टी डेज नोट बुक’ बनाइसकेका छन् । आफ्नो अनुभवलाई निमेशले अहिले नेपाली चलचित्रमा प्रयोग गरिरहेका छन् । चलचित्रमा दार्जीलिङ पहाडी भेक साथै सिक्किमका कलाकारहरुको संख्या बढी रहेको छ । ‘सम्झना बिर्सना’पछि अब अर्कोको लागि पनि तयार गर्ने विचारमा रहेको अद्वित्य प्रधानले बताएका छन् ।

धेरै पढिएका

पछिल्ला अपडेट