प्रेम गीत ३ को हिन्दी संस्करणको काममा कुनै ढिलासुस्ती तथा अवरोध छैन्ः भुवन केसी

रंग नेपाल २०७९ असोज ९ मा प्रकाशित

काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले बोर्डबाट प्रेम गीत ३ को हिन्दी संस्करणको काममा कुनै ढिलासुस्ती तथा अवरोध नभएको दाबी गरेका छन् ।

आइतबार हिन्दी हिन्दी संस्करण विवादबारे एक प्रेस विज्ञप्ति जारी गर्दै उनले हिन्दी संस्करणको काममा कुनै ढिलासुस्ती तथा अवरोध नभएको बताएका हुन् ।

बोर्ड नेतृत्वले प्रक्रियागत ढिलासुस्ती गरेर हिन्दी संस्करण रिलिजमा अवरोध गरेको भन्ने निर्माताको आरोपको खण्डन गर्दै अध्यक्ष केसीले बोर्डबाट सेवाग्राहीको काममा ढिलासुस्ती र अवरोध नभएको दाबी गरेका हुन् ।

यस्तो छ विज्ञप्तिः

चलचित्र विकास बोर्ड स्वदेशी चलचित्रको विकास, प्रवर्द्धन, संरक्षण, श्रीवृद्धि एवं सम्पूर्ण चलचित्रकर्मीहरुको हक, हित र कल्याणका लागि गठन भएको सर्वविदितै छ । हाल चलचित्र “प्रेम गीत ३ (हिन्दी डब)” को विषयलाई लिएर सरोकारवाला, विभिन्न सञ्चार माध्यम तथा सामाजिक सञ्जालहरुमा यस बोर्ड र बोर्डका पदाधिकारीहरुका विरुद्ध विभिन्न लान्छनायुक्त अभिव्यक्ति, टिका टिप्पणीहरु, व्यक्तिगत गाली गलौज समेत गरी भ्रामक, कपोकल्पित समाचारहरु सम्प्रेषण गरे, गराएकोमा चलचित्र विकास बोर्डको गम्भीर ध्यानाकर्षण भएको छ । यस सम्बन्धमा भए गरेका काम, कारबाही र प्रक्रियाका विषयमा प्रष्ट पार्न जरुरी भएकोले यो प्रेस विज्ञप्ति जारी गरिएको छ ।

(१) चलचित्र (निर्माण, प्रदर्शन तथा वितरण) नियमावली, २०५७ को नियम १७ख. बमोजिम चलचित्र “प्रेम गीत ३” को हिन्दी भाषामा यस बोर्डबाट पुनःस्वराङ्कनको स्वीकृतिका लागि श्री आशुषेन फिल्म प्रोडक्सन प्रा.लि. का तर्फबाट मिति २०७९।५।३० मा करचुक्ता प्रमाणपत्र पेश नगरी दरखास्त दिएकोमा उक्त दरखास्त साथ करचुक्ता प्रमाणपत्र अनिवार्य पेश गर्नुपर्नेमा सो पेश नगरेकोले उक्त कागजात पेश गरेपछि मात्र पुनःस्वराङ्कनको स्वीकृतिको लागि कारबाही गरिने जानकारी गराइएको थियो ।

(२) उक्त कम्पनीको करचुक्ताको प्रमाणपत्र पेश नगरी चलचित्र “प्रेम गीत ३ (DUB) (HINDI with ENGLISH SUBTITLE)” को जाँचका लागि विदेशी चलचित्र वितरण इजाजत प्राप्त कम्पनी श्री व्यङ्कटेश इन्टरटेनमेन्ट प्रा.लि.ले भारत स्थित केन्द्रीय फिल्म प्रमाणन बोर्डले मिति २०७९।५।२७ गते (१२ सेप्टेम्बर, २०२२) मा जारी गरेको जाँचपास प्रमाणपत्र संलग्न राखी उक्त चलचित्र विदेशी चलचित्र सरह जाँचको सिफारिसका लागि यस बोर्डमा मिति २०७९।६।५ मा दरखास्त दिएको र सो दरखास्त साथ विदेशी चलचित्रलाई लाग्ने भन्सार महसुल तिरी पैठारी गरेको कागजात समेत पेश गरी चलचित्रको जाँचपासको लागि सिफारिस माग गरेकोले निवेदकको माग बमोजिम नै विदेशी चलचित्र सरह उक्त चलचित्रको जाँचका लागि यस बोर्डको च.नं.२९४, मिति २०७९।६।५ को पत्रबाट केन्द्रीय चलचित्र जाँच समितिमा सिफारिस गरिएको हो ।

(३) श्री आशुषेन फिल्मस् प्रोडक्सन प्रा.लि. मार्फत निर्माण भएको “प्रेम गीत ३” को चलचित्र जाँचका लागि यस बोर्डको च.नं.१८१, मिति २०७९।५।१३ को पत्रबाट केन्द्रीय चलचित्र जाँच समितिमा सिफारिस भई उक्त चलचित्रको मिति २०७९।५।१४ मा सो समितिबाट उक्त चलचित्र जाँच गरी चलचित्र जाँच प्रमाणपत्र समेत दिई सकिएको तर हाल सोही निर्माताबाट निर्माण भई एउटै नाम भएको नेपालमै निर्मित चलचित्रलाई विदेशी सरह जाँचका लागि सिफारिस भएर आएको देखिएकोले प्रस्तुत विषयमा के भएको हो ? खुलाई पठाउनु हुन भनी सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको च.नं.श्रव्य ७१६,मिति २०७९।६।६ को पत्रबाट अनुरोध भई आएको ।

(४) सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको च.नं.श्रव्य ७१६, मिति २०७९।६।६ को विषयमा यस बोर्डको च.नं.३०५, मिति २०७९।६।६ को पत्रबाट सो सम्बन्धमा मन्त्रालयमा खुलाई पठाईएको ।

(५) श्री आशुषेन फिल्मस् प्रोडक्सन प्रा.लि.का तर्फबाट यस बोर्डको च.नं. २६६,मिति २०७९।५।३० को पत्रबाट प्रा.लि.का तर्फबाट नेपाली कथानक चलचित्र “प्रेम गीत ३” को चलचित्र जाँचका लागि सिफारिस माग गर्दा आ.व.२०७७।७८ सम्मको करचुक्ता प्रमाणपत्र १५ (पन्ध्र) दिनभित्र यस बोर्डमा पेश गर्नेछु भनी मिति २०७९।५।१३ मा कबुलियतनामा गरेको सम्बन्धमा उक्त प्रा.लि.का तर्फबाट कबुलियतनामा बमोजिम करचुक्ता प्रमाण पत्र पेश गरेको नदेखिंदा सो पेश गरेपछि मात्र पुनःस्वराङ्कनको स्वीकृतिका लागि कारबाही गरिने जानकारी गराईएकोमा मिति २०७९।६।७ गते मात्र उक्त करचुक्ता प्रमाणपत्रको प्रतिलिपि पेश गरेको ।

(६) मिति २०७९।६।७ मा बसेको बोर्डको बैठकबाट चलचित्र “प्रेम गीत ३” को हिन्दी भाषामा पुनःस्वराङ्कन गर्न स्वीकृति सम्बन्धी कारबाहीका लागि व्यवस्थापन समक्ष पठाउने निर्णय भए बमोजिम उक्त विषयमा व्यवस्थापनबाट तत्कालै कारबाही भई मिति २०७९।६।७ को निर्णयानुसार श्री आशुषेन फिल्मस् प्रोडक्सन प्रा.लि.का नाममा नेपाली कथानक चलचित्र “प्रेम गीत ३” को “चलचित्र (निर्माण, प्रदर्शन तथा वितरण) नियमावली, २०५७” को नियम १७ख. को उपनियम (२) बमोजिम हिन्दी भाषामा पुनःस्वराङ्कन गर्न स्वीकृति दिई मिति २०७९।६।९ को निर्णयानुसार उक्त चलचित्रको जाँचका लागि केन्द्रीय चलचित्र जाँच समितिमा सिफारिस गरिएको हो ।

चलचित्र विकास बोर्डले चलचित्र (निर्माण, प्रदर्शन तथा वितरण) ऐन, २०२६,ऐ. नियमावली,२०५७ र प्रचलित कानूनको अधिनमा रही काम, कारबाही गर्ने गरेको र सोही बमोजिमको प्रक्रिया पूरा गर्ने क्रममा माथि उल्लेख भए अनुसार मिति २०७९ साल असोज ७ मा करचुक्ता प्रमाणपत्र पेश हुनासाथ सोही मितिमै पुनःस्वराङ्कनको स्वीकृति दिई मिति २०७९ साल असोज ९ मा सेन्सर सिफारिसका लागि निवेदन प्राप्त हुनासाथ चलचित्र जाँचका लागि सिफारिस भएको, बोर्डबाट सेवाग्राहीको कुनै पनि काममा प्रक्रियागत ढिलासुस्ती र अवरोध नभएको सम्बन्धित सरोकारवाला एवं आम जनमानसमा स्पष्ट पार्न चाहन्छौं । प्रेम गीत ३ चलचित्रले अन्तर्राष्ट्रिय बजार विस्तारमा नयाँ आयाम ल्याएकोमा यस बोर्डबाट कार्यक्रम गरी सम्बन्धित पक्षलाई हौसला र प्रोत्साहन समेत गरिएको स्मरण गराउँदछौं ।

प्रस्तुत सन्दर्भमा विभिन्न सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा आएका भ्रामक, अतिरन्जित, कपोकल्पित, लान्छनायुक्त विवादास्पद अभिव्यक्ति एवं समाचारप्रति चलचित्र विकास बोर्ड खेद प्रकट गर्दछ । आगामी दिनमा समाचार प्रकाशन, प्रसारण तथा टिका टिप्पणी गर्दा सत्य तथ्यका आधारमा रही गर्नुहुन सम्बन्धित सबै पक्षसँग चलचित्र विकास बोर्ड हार्दिक अनुरोध गर्दछ ।

(भुवन के.सी.)

अध्यक्ष

धेरै पढिएका

पछिल्ला अपडेट