इन्द्रसरोवरमा विश्व कीर्तिमानी संगीतकार डा. उपाध्यायको ‘श्लेषा’ विमोचित

रंग नेपाल २०७९ असोज १० मा प्रकाशित

काठमाडौं । शनिबार बिहान कुलेखानीस्थित मनोरम ताल इन्द्रसरोबरमा सधैंको भन्दा फरक दृश्य देखियो । पाँचवटा डुंगामा पच्चीस–तीसजना मानिसहरू व्यानर लगाएर कार्यक्रम गरिरहेका थिए । यसभन्दा पहिला यो ठाउँमा यस्तो दृश्य नदेखिएकाले यसलाई कौतुहल्तापूर्ण रूपमा हेरिएको थियो । सन्दर्भ थियो विश्वकीर्तिमानी गीतकार डा.डीआर उपाध्यायको एल्बम ‘श्लेषा’ विमोचन । गीतकार संघका निर्वतमान अध्यक्ष चूडामणि देवकोटाको प्रमुख आतिथ्यतामा मनोरम इन्द्रसरोवरको कञ्चन जलमाथि डा.उपाध्यायको एल्बम विमोचन गरिएको छ ।

एकै सांगीतिक स्केल एफ मेजरमा रहेका गीतहरूको संग्रह ‘श्लेषा’लाई कीर्तिमानी संगीतकार तथा उपन्यसकार सन्तोष श्रेष्ठ, गायक तथा संगीतकार सागर अधिकारी ‘शरद’, निर्देशक माइकल चन्द, पत्रकार तथा मिलाप फाउण्डेशनकी अध्यक्ष गीता अधिकारी, सुनिता खनाल, डा.सुभेच्छा थापा, सुरेन्द्र थापा, यमबहादुर, उद्धव खड्का, मिलन भण्डारी, दिनेश शर्मा, अमर थापालगायतले विमोचन गरेका थिए ।

कार्यक्रममा गीतकार डा.उपाध्यायले आफूले आफ्ना सिर्जना हरेक समय फरक तरिकाले प्रस्तुत गर्ने र त्यसलाई सार्वजनिक पनि फरक तरिकाले गर्दै आएकोमा यो एल्बम पनि पानीमाथि बसेर विमोचन गरिएको बताए । यस्तै प्रमुख अतिथि र अन्य अतिथिहरूले डा.उपाध्यायलाई बधाई तथा शुभकामना दिँदै आ–आफ्ना भनाइ व्यक्त गरेका थिए । यसरी पानीमाथि एल्बम विमोचन भएको यो सम्भवतः पहिलो भएको बताइएको छ ।

एल्बममा राखिदिए जिन्दगीको, मेरो चुल्बुले चुल्बुले, सन्तानको शिर, आऊ न आऊ, चौबन्दी चोलीमा, सुहाग रातमा, जूनेली उज्यालोमा, सृष्टिको कुनै, सपनीमा आउँछ्यौ, सिम्पल तरिका, विश्वभरी अमर, रूख रोपौं, मन मस्त मस्त, धन्यवाद धन्यवाद, नलाऊ नजर, जब नजरको, दशैँ तिहार, भि मनमा, झिमझिम परेली, आँखा मान्दैन, यही वाचा, चाहन्छु म तिम्रै, चौतारीमा कति मिठो, आँखामा संगालेर, जवानीमा पहिलो पाइला र गाँसेर प्रीति जस्ता २६ वटा गीत संग्रहित छन् ।

यस्तै एल्बममा रहेका गीतमा सागर अधिकारी, अस्मिता अधिकारी, प्राश्ना पाण्डे, मनोज राज, मेलिना राई, शुरेश लामा, रामचन्द्र काफ्ले, मलिन नेवार, आनन्द कार्की, निशा देशार, शशी रावल, दीपक लिम्बू, डा.डीआर उपाध्याय, अनु चौधरी, सन्तोष श्रेष्ठ, विष्णु भट्ट, विजय परियार, शृंखला जोशी, योगेश काजी, यम बराल, सुरुची पन्थी, कृष्णभक्त राई, कविता शिवाकोटी, सपना अधिकारी, प्रवीन बेड्वाल, ज्ञानु राणाजस्ता गायक गायिकाले स्वर दिएका छन् ।

गीतसंगीत तथा विविध विधामा ११० विश्व कीर्तिमान गर्नुभएका डा.उपाध्यायका १४ उपन्यास पाठकमाझ आएका छन् भने सयौं फरक–फरक शैलीका गीत श्रोता/दर्शकमाझ आएका छन् । उनको पछिल्लो उपन्यास कृति ‘कशुर’ केही समयअघि लोकार्पण गरिएको थियो ।

धेरै पढिएका

पछिल्ला अपडेट