‘नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव’ मंसिर ९ देखि, १६ देशका २३ वटा नाटक मञ्चन गरिने

रंग नेपाल २०७९ असोज ११ मा प्रकाशित

काठमाडौं । नाटकको उत्सवहरुको उत्सव ‘नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव’को दोस्रो संस्करण आउँदो मंसिरको ९ गतेदेखि हुने भएको छ । ‘सामाजिक रुपान्तरणका लागि रङ्गमञ्चः विविधताको उत्सव’ भन्ने नाराका साथ ९ दिनसम्म चल्ने महोत्सवका लागि देश–विदेशका २३ वटा नाटक मञ्चन हुनेछ । साथै विभिन्न अन्तरक्रिया, मास्टर क्लास, कार्यशाला, कला प्रदर्शनीहरु हुनेछन् ।

महोत्सवमा आवेदन परेका मध्येबाट ५ नेपाली नाटकसहित १६ देशका २३ वटा नाटकरु छानिएको आयोजकले जनाएको छ । मण्डला थिएटर नेपालले आयोजना गर्ने ९ दिवसीय नाट्य महोत्सवको सोमबार घोषणा कार्यक्रम तथा पत्रकार सम्मेलन गर्दै मिति घोषणा गरिएको हो ।

मण्डला नाटकघर थापागाउँमा हुने महोत्सवमा नेपाल लगायत संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य बेलायत, रुस, स्पेन, इटाली, आर्मेनिया, अर्जेन्टिना, इजिप्ट, उरुग्वे, नाइजेरिया, बेलारुस, भारत, भुटान, र श्रीलंकाबाट छानिएका नाट्य समूहले नाटक मञ्चन गर्नेछन् ।

साथै, भारत, उरुग्वे, कम्बोडिया आदि देशका प्रसिद्ध कलाकार तथा अभियन्ताले कार्यशाला तथा तालिम सञ्चालन गर्ने महोत्सवका निर्देशक तथा मण्डला थिएटरका अध्यक्ष सिर्जना सुब्बाले जानकारी दिए । महोत्सवका लागि २३ देशका कुल ८५ वटा नाटकले आवेदन दिएका थिए ।

धेरै पढिएका

पछिल्ला अपडेट