प्रेरणाका पुञ्ज शताब्दी पुरुष

रंग नेपाल २०७९ असोज ३० मा प्रकाशित

काठमाडौं । शताब्दी पुरुष सत्यमोहन जोशीले नेपाली वाङ्मयका क्षेत्रमा महत्वपूर्ण र विशिष्ट योगदान पु¥याएका छन् । उनका नेपाली, नेवारी र अङ्ग्रेजी भाषामा अनेक विषयका करिब छ दर्जन जति सिर्जनात्मक, अनुसन्धानात्मक कृति प्रकाशित छन् ।

बहुमुखी प्रतिभाका धनी जोशीको एक सय तीन वर्षको उमेरमा आज ललितपुर ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचारका क्रममा आज निधन भएको हो । उनिप्रति श्रद्धाञ्जलि दिन विभिन्न पार्टीका नेता, साहित्य तथा संस्कृतिकर्मी अस्पताल आइपुगेका छन् । उनि काव्यकार, नाटककार, कथाकार, निवन्धकार, नियात्राकार, समालोचक, कोषकार, अनुवादक र सम्पादकका रूपमा समेत प्रसिद्ध थिए । उनि लोक साहित्य, लोक संस्कृति, संस्कृति, कला र कलाकार, पुरातत्व, नेपाली राष्ट्रिय मुद्रा, धर्म र दर्शन आदि विषयका मौलिक र अनुदित कृति प्रकाशित गरेर संस्कृतिविद्, कुशल अन्वेषक र अनुसन्धाताका रूपमा स्थापित र प्रतिष्ठित थिए ।

राष्ट्रको प्रशासनिक सेवामा औद्योगिक सुपरीवेक्षक, सङ्ख्या विभागका सुपरिटेण्डेन्ट, राष्ट्रिय योजना परिषद्का प्रोग्राम अफिसर, पुरातत्व र संस्कृति विभागका डाइरेक्टर बनी उनले उत्कृष्ट राष्ट्रसेवा गरेका छन् । उनले चीनमा नेपाली भाषाका प्रशिक्षक, त्रिभुवन विश्वविद्यालय र अन्य विश्वविद्यालयमा विशेषज्ञ र प्राध्यापककारूपमा कार्य गरी उच्च शिक्षाको क्षेत्रमा विशेष योगदान दिए । संस्कृतिविद् नेपाल प्रज्ञाप्रतिष्ठानका सदस्यसचिव र नेपाली भाषाका अकादमीका कुलपतिको रूपमा कार्य गरी नेपाली प्रज्ञाको विकास र विस्तारमा महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । कर्णालीको भाषा, साहित्य र संस्कृति प्रकाशनमा उनि र उनको समूहको ठूलो योगदान रहेको छ ।

उनि अनेकौँ सङ्घसंस्थाका संस्थापक र सञ्चालक थिए । उनि राष्ट्रका लागि दिएका अमूल्य योगदानको मूल्याङ्कन गर्दै नेपाल सरकार र अन्य सङ्घसंस्थाले अनेक सम्मान र पुरस्कारबाट सम्मानित र पुरस्कृत, मनार्थ महाविद्यावारिधि उपाधिबाट विभूषित तथा वाङ्मय शताब्दी पुरुष सम्मानबाट सम्मानित थिए । उनले तीनपटक प्रशिद्ध मदन पुरस्कार प्राप्त गरेका थिए । शताब्दी पुरुष जोशी नेपालका सच्चा सपूत, असली रत्न, नेपाली ज्ञानोदयका सूत्रधार, नेपाल राष्ट्रका गौरव र अजम्मरी राष्ट्रिय सम्पदाका रूपमा रहे । अत्यन्त लगनशील, सिर्जनशील र ओजस्वी व्यक्तित्वको उनको छवि थियो । जोशी समाजका सबै वर्ग समुदाय तथा तह र तप्का प्रेरणाका स्रोत थिए । रासस

धेरै पढिएका

पछिल्ला अपडेट