काठमाडौं । सुख, शान्ति, समृद्धि र आपसी सद्भावका साथ मनाइने तिहारको समयमा रातको नौ बजेसम्म मात्र देउसीभैलो खेल्न प्रहरीले अनुरोध गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले शुक्रबार विज्ञप्ति जारी गरी आफ्नो चिनजान भएको स्थानमा मर्यादित एवं सभ्य तवरले रातको नौ बजेसम्म देउसीभैलो खेल्न अनुरोध गरेको हो ।
परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक दिनेशराज मैनालीले हर्षोल्लासका साथ मनाइने तिहार पर्वमा अवाञ्छित गतिविधि देखिएमा तत्कालै प्रहरीलाई खबर गर्न आग्रह गरे । परिसरले आफ्नो टोल छरछिमेकमा जुवातास खेलेमा वा पटाका पड्काए तत्काल प्रहरीलाई खबर गर्न आग्रह गरेको छ ।
मुलुकी अपराध संहिता, २०७४ को विष्फोटक पदार्थ (पटाका) सम्बन्धी कसुरमा तीन वर्षसम्म कैद र रु ३० हजारसम्म जरिवना हुनसक्ने व्यवस्था रहेको छ । मादक पदार्थ सेवन गरेर सवारीसाधन नचलाउन, सार्वजनिक स्थानमा मद्यपान, धुम्रपान नगर्न, नगद बहुमूल्य सामान, गरगहना लकरमा राख्न, विद्युतीय माध्यमबाट मात्र आर्थिक कारोबार गर्नसमेत प्रहरीले काठमाडौंवासीलाई आग्रह गरेको छ ।
छतमा चढेर यात्रा नगर्न, सडकको दायाँबाया जथाभावी पार्किङ नगर्न, ट्राफिक नियमको पालना गर्न प्रहरीले अनुरोध गरेको छ । यात्रा गर्ने क्रममा अपरिचित व्यक्तिले दिएको खानेकुरा नखान, नचिनेको व्यक्तिले घरको ढोका ढकढक्याएमा नखोल्न, आफ्नो घर, छरछिमेक र टोलमा सिसी क्यामेरा जडान गर्न, लामो समय घरबाहिर जानुपरेमा विश्वासिलो छिमेकी र आफन्तलाई जानकारी गराउन प्रहरीले अनुरोध गरेको छ । तिहार तथा छठ पर्वका लागि गाउँ जान लागेको तस्बिर तथा जानकारी सामाजिक सञ्जालमा पोष्ट नगर्न प्रहरीले आग्रह गरेको छ ।