हास्य कलाकार ‘गोक्ते काजी’को स्वास्थ्यमा सुधार

रंग नेपाल २०७९ कार्तिक ५ मा प्रकाशित

काठमाडौं । चर्चित हास्य कलाकार रामचन्द्र अधिकारी ‘गोक्ते काजी’को स्वास्थ्यमा सुधार आएको छ ।

१० दिनअगाडि निमोनियालगायत समस्याका कारण चाबहिलस्थित मेडिकेयर अस्पतालमा उपचारका लागि भर्ना भएका उनको स्वास्थ्यमा राम्रो सुधार भएको अधिकारीकी श्रीमती शिखा अधिकारीले जानकारी दिइन् ।

दर्शकमाझ ‘काजी साप’ र ‘गोक्ते काजी’ उपनामले परिचित कलाकार अधिकारीलाई सुरूमा आईसीयूमा भर्ना गरिए पनि अहिले क्याबिनमा राखिएको छ । ‘अहिले खाना खान थाल्नुभएको छ । स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ । केही दिनमा अस्पतालले डिस्चार्ज दिने बताएको छ,’ श्रीमती शिखाले भनिन् ।

६८ वर्षीय कलाकार अधिकारी सानो पर्दाका विभिन्न हास्य श्रृंखलामार्फत दर्शकमाझ चर्चित र लोकप्रिय छन् । थुप्रै चलचित्रमा समेत अभिनय गरेका उनी ‘मेरी बास्सै’ श्रृंखलाबाट ‘काजी साप’ अर्थात् गोक्ते काजीको रूपमा देखिँदै आएका छन् । अधिकारीले थुप्रै म्युजिक भिडियोमा समेत अभिनय गरेका छन् । पछिल्लो समय उनी ‘कान्छी’ टेलीश्रृङ्खलामा पनि देखिदै आएका छन् ।

धेरै पढिएका

पछिल्ला अपडेट