२५ संगीतकर्मीले एकैथलोमा बजाए पियानो

रंग नेपाल २०७९ कार्तिक २१ मा प्रकाशित

काठमाडौं । गीत–संगीत र साहित्यका विभिन्न विधामा गिनिज बुक अफ वल्र्ड रेकर्डसहित ११० विश्व रेकर्ड कायम गरिसकेका बहुआयामिक सर्जक डा. डीआर उपाध्यायले संगीत क्षेत्रमा पुनः विश्वमै नौलो काम गरेका छन् । शनिबार राजधानीमा आयोजित एक समारोहमा डा. उपाध्यायद्वारा रचित एवम् कीर्तिमानी संगीतकार सन्तोष श्रेष्ठद्वारा संगीतवद्ध २५ वटा फरक–फरक गीतको मेलोडी (धुन) २५ जना संगीतकर्मीहरूले एकै थलोमा क्रमैसँग पालैपालो किबोर्डमा बजाएका छन् ।

यस प्रकारको प्रस्तुति विश्वमै नौलो र पहिलो भएको कीर्तिमानी गीतकार डा. उपाध्यायले जानकारी गराए । कार्यक्रम राष्ट्रवादी गीतकार एवं गीतकार संघ नेपालका निर्वतमान अध्यक्ष चूडामणि देवकोटाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । समारोहमा सन्तोष श्रेष्ठले ‘सन्तानको शीर उठाउन’, सागर अधिकारी ‘शरद’ले ‘तिलिचो ताल’, देवेन्द्र नेवाःले ‘तिम्रो एक झल्को नपाउँदा’, सूर्य दयालुले ‘स्वर्थी छ दुनियाँ’, प्रेम अर्यालले ‘उर्लिरहेका छन्’, धनेश परियारले ‘कुनै घुम्तीमा तिमीले’, नरहरि प्रेमीले ‘हावाले उडायो पछ्यौरी तिम्रो’, काव्य आचार्यले ‘स्वागत छ भाउजू हजुरलाई’, मञ्जु उपासनाले ‘मुटुभित्र मुटुको’, एच.बी. सुनारले ‘यो मुटु अर्कैसँग’, बेदु सारु मगरले ‘बत्तीस लक्षण भएकी’, तुलसी गिरी ‘भावुक’ले ‘समाजका हरेक कुरामा’, प्रकाश मिश्रले ‘हामी बादलभित्र’, प्रवीण बराइलीले ‘हाँसीहाँसी दिल चोरेर’, दिलिप लामाले ‘तिम्रो मेरो चोखो माया’, ज्योति प्रकाशले ‘कसम यो मात हो पिरतीको’, राज सागरले ‘तिमीले रोपेको विषालु काँडा’ र सुभाष श्रेष्ठ प्रधानले ‘सपनीमा आउँछ्यौ तिमी’ बोलका गीतको धुन किबोर्डमा बजाएकबा थिए ।

यसैगरी, दीपक चौलागाईंले ‘जान्न चाहन्छिन् ऊनी अचेल’, पुष्कर खत्रीले ‘जिन्दगीका हरेक रूप’, अशोक बरालले ‘झिमझिम परेली झिमझिम’, सतिस शाहले ‘तिम्रो हरेक चाहना’, सुरेन्द्र शाहीले ‘तिम्रो आँखाको नानीभित्र’, बी.पी. वाग्लेले ‘सगरमाथा हिमाल’ र तिलक भट्टराईले ‘दसैँ तिहार आयो’ बोलका गीतका धुन बजाएका थिए । यो प्रस्तुति निकट भविष्यमा विश्व रेकर्डका लागि प्रक्रियामा जाने बताइएको छ ।

धेरै पढिएका

पछिल्ला अपडेट