अर्जेन्टिनाले विश्वकप जितोस् भन्दै नेपाली युवकले गरे मेस्सीका नाममा ग्रह शान्ति पूजा

रंग नेपाल २०७९ पुष ३ मा प्रकाशित

काठमाडौं । आज राति ८ः४५ बजेबाट कतारमा जारी विश्वकप फुटबल प्रतियोगिताको फाइनल खेल हुँदै छ ।

उपाधिको लागि जारी विश्वकपमा उत्कृष्ट लयमा रहेको डिफेन्डिङ च्याम्पियन फ्रान्स र अर्जेन्टिना भिड्दै छन् । दुबै टिमले दुई/दुई पटक विश्वकपको उपाधि जितिसकेका छन् ।

फ्रान्स लगातार दोस्रो पटक विश्वकपको उपाधि हात पार्ने दाउमा छ भने अर्जेन्टिना ३६ वर्षपछि उपाधि हात पार्ने रणनीतिमा छ । अर्जेन्टिनाले सन् १९८६ मा मेक्सिकोमा भएको विश्वकपमा उपाधि हात पारेको थियो ।  त्यसयता अर्जेन्टिनाले विश्वकपको उपाधि हात पार्न सकेको छैन् ।

अर्जेन्टिना यसअघि ब्राजिलमा सन् २०१४ मा भएको विश्वकपको फाइनलमा पुगेर जर्मनीसँग पराजित भएको थियो ।

अर्जेन्टिनाको लागि पाँच पटक विश्वकप खेलिरहेका ३५ वर्षीय कप्तान लिओनल मेस्सीले आज हुने फाइनल खेल विश्वकपमा आफ्नो अन्तिम खेल हुने बताइसकेका छन् । सन् २००६ मा पहिलो पटक विश्वकप खेलेका मेस्सीले कतार विश्वकपसहित पाँचौ पटक विश्वकप खेलेका छन् ।

यसैक्रममा विश्वकप फुटबलको फाइनल खेलमा अर्जेन्टिनाको जितको कामना गर्दै एक नेपाली युवकले आफ्नै घरमा अर्जेन्टिनाका कप्तान मेस्सीको नाममा ग्रह शान्ति पूजा गरेका छन् । शनिबार मकवानपुरको हेटौंडा-११ नवलपुरका सागर घिमिरेले आफ्नै घरमा अर्जेन्टिनाको जितको लागि पूजा गरेका हुन् ।

कप्तान मेस्सीलाई विश्वकप जित्न ग्रहहरूले वाधा–अड्चन नपुर्‍याओस् भनेर ग्रह शान्ति पूजा गरेको घिमिरेले बताए । मेस्सीले विश्वकपको फाइनल खेलिरहँदा समय चक्रमा ग्रहहरूले वाधा–अड्चनहरू नपुर्‍याओस् भनेर ग्रह शान्ति पूजा गरेको घिमिरेले बताए ।

धेरै पढिएका

पछिल्ला अपडेट