साहित्यकार कृष्ण बानियाँको ‘विसङ्गत अभिरुचि’ सार्वजनिक

रंग नेपाल २०७९ पुष २४ मा प्रकाशित

गण्डकी । म्याग्दीका साहित्यकार कृष्ण बानियाँको संस्करण कृति ‘विसङ्गत अभिरुचि’ सार्वजनिक गरिएको छ । शिखा बुक्सद्वारा प्रकाशित सो कृतिको शनिबार बेनी बजारमा आयोजित समारोहमा साहित्यकार एवं रत्न श्रेष्ठ पुरस्कार गुठीका संस्थापक प्रेम छोटाले विमोचन गर्दै बानियाँको कृतिले नेपाली वाङ्मयको श्रीवृद्धिमा इँटा थप्ने धारणा राखे । उनले सरल र कथात्मक लेखनले पुस्तकलाई पठनीय बनाएको बताए । टिप्पणीकार रामप्रसाद सुवेदीले बानियाँको कृतिले कर्मचारी प्रशासनको विसङ्गतिलाई पर्दाफास गरेको उल्लेख गरे ।

सत्यतामा आधारित र पत्यारिला घटना शृङ्खलाको रोचक प्रस्तुतिले बानियाँको लेखकीय ओज झल्काएको उनको भनाइ छ । मदन पुरस्कार विजेता साहित्यकार चन्द्रप्रकाश बानियाँले लेखकले संस्मरणमा निर्भिकता र इमान्दारिता प्रदर्शन गरेको बताए । सरकारी सेवाबाट निवृत्त कृतिकार बानियाँले ३७ वर्ष लामो जागिरे जीवनका तितामिठा भोगाइ र अनुभवलाई पुस्तकाकार दिएको बताए । ‘हाम्रो समाज र राज्य व्यवस्थाका कमजोरी औँल्याएको छु, समाजसँग सङ्गति नमिलेका मेरा विचार र भोगाइ पुस्तकमा छन्’, उनले भने ।

साहित्यकार बानियाँले सरकारी सेवामा हुँदा आफूले जहिल्यै गलत प्रवृत्तिका विरुद्ध खडा हुँदा उल्टै अन्यायमा परेको सुनाए । पुस्तकमा ‘नक्कली स्रेस्ता’, ‘महँगो सुरुवा’लगायत २८ शीर्षकका संस्मरण छन् । बानियाँको यसअघि ‘केही अनुभव, केही अनुभूति’ नियात्रा, ‘म्याग्दीको बानियाँ वंश’ सामाजिक इतिहास, ‘पुलस्त्य–पुलहाश्रमको परिचय र महत्व’, धार्मिक इतिहासको पुस्तक प्रकाशित छ ।

धेरै पढिएका

पछिल्ला अपडेट