‘पशुपति प्रसाद’को सिक्वेल ‘भष्मे डन’ बन्ने

रंग नेपाल २०७९ माघ १६ मा प्रकाशित

काठमाडौं । नेपाली कथानाक चलचित्र ‘पशुपति प्रसाद’को फ्रेञ्चाइज सिक्वेल ‘भष्मे डन’ निर्माणको घोषणा गरिएको छ । आइतबार राजधानीमा ‘ पशुपति प्रसाद’ रिलिजको ७ वर्षको अवसरमा निर्माण कम्पनी टुकी आर्ट्सले केक काटेर खुसियाली मनाउँदै ‘भष्मे डन’को कास्ट एन्ड क्रु र रिलिज डेट पनि सार्वजनिक गरेको छ ।

दीपेन्द्र के खनाल निर्देशित फिल्म ‘पशुपति प्रसाद’ व्यावसायिक र समीक्षात्मक रूपमा अब्बल साबित फिल्म हो ।

अभिनेता खगेन्द्र लामिछानेको लेखन र निर्माण रहने फिल्मको शीर्ष भूमिकामा अभिनेता विपीन कार्की रहनेछन् ।

उनी ‘पशुपति प्रसाद’मा ‘भष्मे डन’ चरित्रमा थिए । निर्देशक खनालले लामो समय स्क्रिप्ट ‘लक’ गर्नै नसकेर अड्किएको खुलाए । ‘स्क्रिप्ट तयार पार्‍यो अनि ओल्टाई–पल्टाई गर्दा चित्त नै बुझ्दैन थियो । अहिलेचाहिँ यो स्क्रिप्टमा फिल्म बनाउँदा अर्थपूर्ण हुन्छ भन्ने लागेको छ । हामीले हतार गरेर फिल्म बनाउन लागेका होइनौँ’, उनले भने, ‘फिल्मले ७ वर्षको अवधिमा भष्मे डनको जीवनमा आएका विभिन्न उतारचढावलाई फिल्ममा प्रस्तुत गरिनेछ ।’

‘भष्मे डन’मा विपीनसँगै सौगात मल्ल, स्वस्तिमा खड्का, प्रकाश घिमिरे, रवीन्द्रसिंह बानियाँ, मिश्री थापा, सजन थापा मगर, विभू पौडेल, प्रकाश दाहाललगायत कलाकारको अभिनय रहनेछ ।

आगामी फागुन मध्यदेखि छायाङ्कन सुरु हुने फिल्म २०८० सालको फूलपातीमा रिलिज हुने बताइएको छ ।

कृष्ण भारद्वाज र सुवास भुषालको सङ्गीत रहने फिल्ममा निरज कँडेलको डीओपी, कृष्ण थापाको छायाङ्कन, शङ्कर पाण्डेको प्रोडक्सन डिजाइन, रोहितराज गौतमको मुख्य सहायक निर्देशन, संजोग रसाइलीको सहायक निर्देशन र दीर्घ खड्काको सम्पादन रहनेछ ।

धेरै पढिएका

पछिल्ला अपडेट