शिवका पाँच मन्दिर जहाँ शिवरात्रिका दिन ठूलो मेला लाग्छ

रंग नेपाल २०७९ फागुन ६ मा प्रकाशित

पशुपतिनाथ मन्दिर
महाशिवरात्रिको अवसरमा काठमाडौंको पशुपतिनाथ मन्दिरमा विशेष मेला लाग्ने गर्छ । शिवरात्रिका दिन मन्दिर आसपासका क्षेत्रमा भक्तजनहरूको ठूलो भिड लाग्ने गर्छ । मन्दिरमा नेपालबाहेक भारत, भुटानलगायत विभिन्न देशबाट साधुसन्त तथा भक्तजनहरू आउने गर्छन् । मन्दिर दर्शन र पुजाआजा गर्न पालो नपाउने भएकाले शिवरात्रिको अघिल्लो दिनदेखि नै भक्तजनहरू लाइन बसेर पूजा गर्ने गर्छन् ।

भालेश्वर मन्दिर
काठमाडौंको चन्द्रागिरीस्थित भालेश्वर मन्दिर मेला लाग्ने अर्को धार्मिक स्थल हो । भगवान महादेवले आफ्नी श्रीमति सतीदेवीको मृत शरीर बोकेर पृथ्वी भ्रमण गर्ने क्रममा चन्द्रागिरि पर्वत पुगेको किम्मदन्ती छ । चन्द्रागिरिको चुचुरोमा महादेव पुग्दा सतीदेवीको भाल अर्थात् निधार पतन भएको र शिवलिंग उत्पत्ति भएको हिमवत खण्डको अध्यायमा वर्णन गरिएको छ ।
भाल पतन भएर उत्पत्ति भएका महादेवलाई भालेश्वर भनी पुकार्न थालिएको धर्म ग्रन्थहरूमा उल्लेख छ । भालेश्वर महादेवको दर्शन गरे भक्तजनहरूका मनोकांक्षा पूरा हुने आस्था रहेको छ ।

सिद्धालेख मन्दिर
धादिङको सिद्धालेख गाउँपालिका–२ नलाङस्थित सिद्धालेख मन्दिरमा पनि शिवरात्रिको दिन मेला लाग्ने गर्छ । मन्दिरबाट काठमाडौं देखिने भएका हुँदा यसको महत्व बढेको छ । यहाँ शिवरात्रिका दिन देशका विभिन्न स्थानबाट भक्तजनहरू पुग्ने गर्दछन् । मन्दिर जानका लागि जङ्गलको धेरै रमणिय दृश्यहरु अवलोकन गर्दै जान पाईन्छ । सो मन्दिरमा एक पटक गएपछि तीन पटक जानुपर्छ विश्वास रहँदै आएको छ ।

अर्जुनधारा मन्दिर
अर्जुनधारा मन्दिर झापाको प्रमुख तीर्थस्थल हो । यस मन्दिरमा पुजाआजा गर्नेहरूको सधै घुँईचो लाग्ने लाग्दछ । खासगरी महाशिवरात्रि, बाला चतुर्दशी, कृष्ण जन्माष्टमी, माघे संक्रान्ति आदि पर्वहरूमा भक्तजनको बढी मात्रामा उपस्थित हुने गर्दछ । मन्दिर परिसरभित्र सातकुने पोखरी छ । पोखरीको बीचमा अर्जुनले गाईलाई पानी खुवाइरहेको मूर्ति स्थापित गरिएको छ । शिवरात्रिका दिन यस मन्दिरमा बिहानदेखिनै भक्तजनहरूको भिड लाग्ने गर्दछ ।

हलेसी महादेव
खोटाङको हलेसी महादेव नेपालको प्रसिद्ध हिन्दु तीर्थस्थल हो । हलेसी महादेवलाई हिन्दु धर्मावलम्बीले पूर्वको पशुपति, बौद्धमार्गीले दोस्रो लुम्बिनी भनेर पनि चिनिने गरेको पाईन्छ । यहाँ हलेसी गुफाको प्राकृतिक भू–बनोटसमेत अनौठो मानिन्छ । यहाँ शिवरात्रिको दिन ठूलो मेला लाग्ने गर्दछ । हलेसी महादेवको दर्शन गरेमा मनोकांक्षा पूरा हुने मान्यता समेत रहेको छ । शिवरात्रिका दिन यहाँ देशभरका भक्तजनहरु जाने गर्छन् ।

धेरै पढिएका

पछिल्ला अपडेट