राष्ट्रपति निर्वाचन: नेम्वाङ र पौडेलको उम्मेदवारी कायम

रंग नेपाल २०७९ फागुन १६ मा प्रकाशित

काठमाडौं । राष्ट्रपति निर्वाचनका लागि नेकपा एमालेका नेता सुवास नेम्वाङ र नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल दुवैको उम्मेदवारी कायम भएको छ ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार आज ४ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय निर्धारण गरेको भए पनि दुवै नेताले फिर्ता नलिएपछि दुवैको उम्मेदवारी कायम भएको हो ।

निर्वाचन कार्यतालिका अनुसार राष्ट्रपतिका लागि फागुन २५ गते बिहान १० बजेदेखि ३ बजेसम्म मतदान हुनेछ ।

यसैगरी निर्वाचन आयोगले राष्ट्रपति तथा उपराष्ट्रपतिका उम्मेदवारले खर्च गर्न पाउने सीमा निर्धारण गरेको छ ।

राष्ट्रपति र उपराष्ट्रपतिका उम्मेदवारले चुनाव प्रचारप्रसारका लागि चार लाख खर्च गर्न पाउने भएका छन् ।

राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐनको दफा ६२ मा मनोनयनपत्र दर्तादेखि परिणाम घोषणासम्मको अवधिमा उम्मेदवारले गर्ने खर्चको सीमा सम्बन्धी व्यवस्था छ । त्यस व्यवस्था अनुसार उम्मेदवारले अधिकतम चार लाखसम्म खर्च गर्न पाउँछन् ।

तोकिएको सीमा अनुसार सवारी साधनमा र गोष्ठी तथा अन्तरक्रियामा १/१ लाख खर्च गर्न पाइने छ ।

कार्यालय सञ्चालनमा ६० हजार, प्रतिनिधि परिचालनमा ४० हजार, विविधमा २४ हजार, सवारी इन्धन, प्रचार प्रसार सामग्री, अन्य प्रचार प्रसार, छापा एवम् विद्युतीय माध्यममा २०/२० हजार, ढुवानीमा १५ हजार र मतदाता नामावली खरिदमा १ हजार खर्च गर्न पाइनेछ ।

धेरै पढिएका

पछिल्ला अपडेट