चलचित्र ‘नीलो फूल’को हेटौंडामा प्रिमियर

रंग नेपाल २०७९ फागुन १९ मा प्रकाशित

हेटौंडा । यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको समस्या उजागर गर्नेगरी तयार पारिएको चलचित्र ‘नीलो फूल’को हेटौंडामा प्रिमियर गरिएको छ ।

फ्रेण्ड्स् हेटौंडाको संयोजनमा बिहीबार हेटौंडाको एनएस सिनेमा हलमा मकवानपुरका सरोकारवालाहरुको उपस्थितिमा चलचित्र प्रदर्शन गरिएको हो । करिब एक घण्टा लामो चलचित्रमा परिवार र समाजको दबाबमा एउटा समलिङ्गी पुरुषले अनिच्छाले बिवाह गर्दाको परिणाम देखाइएको छ ।

समलिङ्गी पुरुषको अनिच्छापूर्वक बिवाह गर्दा सन्तान प्राप्ती र यौन सुख लिन÷दिन नसकेको र त्यसका कारण परिवार र समाजबाट तिरस्कृत हुनु परेको विषयवस्तु समेटिएको छ । यस्तो अवस्थामा समलिङ्गी पुरुषका साथ बिवाह गरेर आउने महिलामाथिको लान्छना, भेदभाव, मानसिक हिंसालाई पनि चलचित्रमा उजागर गरिएको छ ।

पुर्व सांसद तथा यौनिक तथा लैङ्गिक अल्पसंख्यक अधिकारकर्मी सुनिलबाबु पन्तको निर्माण तथा निर्देशन रहेको चलचित्रमा सागर घिमिरे, उर्मिला कार्की, घनश्याम जोशी, विमला गिरी लगायतका कलाकारहरुले अभिनय गरेका छन् । चलचित्र यस अघि काठमाडौं, नेपालगन्ज, बिराटनगर, बुटवल लगायतका स्थानहरुमा प्रदर्शन गरिसकिएको छ ।

धेरै पढिएका

पछिल्ला अपडेट