बेलायती सरकारी उपकरणमा टिकटक प्रतिबन्धित

रंग नेपाल २०७९ चैत ३ मा प्रकाशित

लण्डन । बेलायती सरकारी फोनमा टिकटकमाथि प्रतिबन्ध लगाइने भएको बेलायती सञ्चारमाध्यमले बिहीबार जानकारी दिएका छन् । क्याबिनेट कार्यालयका मन्त्री ओलिभर डाउडेनले बिहीबार नै सांसदहरूलाई ‘सरकारी उपकरणहरूको सुरक्षा’बारे सम्बोधन गर्ने बताइएको छ ।

बेलायती सञ्चारमाध्यम बीबीसी र स्काई न्यूजले चिनियाँ स्वामित्वमा रहेको भिडियो सेयर गरिने एपमाथि प्रतिबन्ध लगाउन लागेको बताएका छन् । प्रधानमन्त्री ऋषि सुनकको कार्यालयले यस साता सुरक्षा चासोका बारेमा पटक–पटक सोधपुछ गर्दा पनि मौन बसेको छ ।

सोमबार संयुक्त राज्य अमेरिकाको भ्रमणका क्रममा सुनकले सरकारले ‘उपकरणहरूको सुरक्षालाई’ गम्भीरतापूर्वक लिएको बताए । उनले भने, “हामी हाम्रा सहयोगीहरूले के गरिरहेका छन् भनेर पनि हेर्छौं ।” सन्डे टाइम्सले गत साता साइबर सुरक्षा विज्ञहरूले सरकारलाई टिकटक हटाउन सिफारिस गर्न सुझाव दिएको उल्लेख गरेको थियो ।

टिकटक चीनको बाइटडान्सको स्वामित्वमा रहेको छ र यसले लामो समयदेखि चीनमा डाटा नराख्ने वा बेइजिङसँग साझेदारी नगर्ने बताउँदै आएको छ । आधिकारिक उपकरणहरूमा एपको बेलायती प्रतिबन्धलाई युरोपेली संघ र संयुक्त राज्य अमेरिकाले पनि पछ्याउने सम्भावना रहेको छ । अमेरिकी अधिकारीहरूले टिकटकले बाइटडान्ससँग सम्बन्ध विच्छेद गरेमा व्यापक राष्ट्रिय प्रतिबन्धबाट बच्ने बताएका छन् ।

बिहीबार बेइजिङस्थित विदेश मन्त्रालयले वासिङ्टनलाई टिकटकलाई ‘अनुचित रूपमा दबाउने’ काम बन्द गर्न आग्रह गरेको थियो । प्रवक्ता वाङ वेनबिनले भने, “टिकटकले अमेरिकाको राष्ट्रिय सुरक्षालाई खतरामा पार्छ भन्ने प्रमाण प्रस्तुत गर्न अमेरिका अहिलेसम्म असफल भएको छ ।” प्रतिबन्धले टिकटकको विकासलाई रोकेको छैन । वी आर सोशल मार्केटिंग एजेन्सीका अनुसार एक अर्बभन्दा बढी सक्रिय प्रयोगकर्ताहरूको साथ यो विश्वमा छैटौं सबैभन्दा बढी प्रयोग गरिएको सामाजिक प्लेटफर्म हो ।

यद्यपि मेटाको फेसबुक, ह्वाट्सएप र इन्स्टाग्रामको लामो समयदेखिको ख्यातीलाई अझै टिकटकले भेट्न सकेको छैन तर युवाहरूमा यसको वृद्धिले यसको प्रतिस्पर्धीहरूलाई धेरै पछाडि पार्ने निश्चित देखिएको छ । एएफपी वालरु एजेन्सीका अनुसार टिकटक प्रयोगकर्तामध्ये एक तिहाइ १० देखि १९ वर्ष उमेर समूहका छन् । यसको तीव्र वृद्धिले गत वर्ष विज्ञापन राजस्वमा ११ अर्ब अमेरिकी डलरभन्दा बढी योगदान गरेको थियो । यो एक वर्षमा तीन गुणाभन्दा बढीको वृद्धि हो ।

टिकटकका प्रतिस्पर्धीहरूले चाँडै यसको छोटो भिडियो ढाँचा र निरन्तर स्क्रोलिङको नक्कल गरे पनि उनीहरूलाई टिकटकको तुलनामा खासै फाइदा भएको देखिँदैन । एएफपी

धेरै पढिएका

पछिल्ला अपडेट