वरिष्ठ कार्टुनिष्ट वात्स्यायनलाई नागरिक अभिनन्दन

रंग नेपाल २०७९ चैत ५ मा प्रकाशित

लेखनाथ । वरिष्ठ कार्टुनिष्ट दुर्गा बराल ‘वात्स्यायन’ लाई शनिबार पोखरामा नागरिक अभिनन्दन गरिएको छ । साहित्यिक संस्था पोखरेली युवा सांस्कृतिक परिवारको संयोजनमा यहाँका विभिन्न संघसंस्थाले उनलाई अभिनन्दनसँगै रथारोहण गरेका हुन् । कार्टुनमार्फत नेपाली समाजका विकृति, विसङ्गति र बेथितिका विरुद्ध प्रहार गर्ने बराललाई उनकै निवास पोखर–३ नदीपुरस्थित घरबाट रथारोहण गराई पोखराको विन्ध्यवासिनी मन्दिर परिसरमा पुगेर अभिनन्दन गरिएको थियो ।

कम शब्द, रेखाचित्र र रङका माध्यमबाट सटिक व्यङग्य प्रहार गर्ने बरालले राजनीतिक तथा सामाजिक विकृतिप्रति तिखो व्यङ्ग्य गरी समाजलाई सही बाटोमा हिँडाउन भूमिका खेलेको भन्दै अभिनन्दन गरिएको पोखरेली युवा सांस्कृतिक परिवारका अध्यक्ष उपेन्द्र पौडेलले बताए । नागरिक अभिनन्दन कार्यक्रममा प्रमुख अतिथिको रूपमा बोल्दै वरिष्ठ साहित्यकार सरुभक्त श्रेष्ठले वात्स्यानका कार्टुन समाजको ऐना भएको बताए । “पोखरा आफैँमा सुन्दर सहर हो । सबैले देख्ने पोखरालाई क्यानभासमा लेख्ने बराल पानी रङ चलाउनुहुन्छ । पानी रङ चलाउनु क्यानभासमा जोखिम हुन्छ । सानोमात्रै त्रुटि भयो भने सच्याउने ठाउँ नै हुँदैन । जोखिम मोलेरै उहाँले पोखरालाई पानी रङको पाठशालामात्र मात्रै होइन कलाको राजधानी नै बनाइदिनुभयो”, श्रेष्ठले भने ।

पोखरालाई ‘स्कुल अफ वाटर कलर’का नामले चिनाउन बरालको महत्वपूर्ण योगदान भएको उनले बताए । व्यङ्ग्य चित्रलाई उचाइमा पुर्‍याउने बराललाई विश्वस्तरीय चित्रकारका रूपमा चिनिने गरिएको श्रेष्ठले भनाइ छ ।

साहित्यकार तथा कवि तीर्थ श्रेष्ठले छन्द अनुभूति हुने गरी कला प्रदर्शन गर्ने क्षमताका कार्टुनिष्ट बरालले चित्रकारिताको माध्यमबाट राजनीतिक विकृतिलाई व्यङ्ग्य प्रहार गर्नुभएको बताए । पुरस्कार र पदको लोभमा कहिल्यै नलाग्ने बरालले पानी रङका चित्रमार्फत चित्रकारिता अगाडि बढाउन सफल भएको बताए । अभिनन्दित व्यक्तित्व वात्स्यायनले आफू चित्रकारितातर्फ आफ्नै घरको भान्सा कोठाको भित्तामा रहेका चित्रबाट आकर्षित भई यस क्षेत्रमा लागेको बताए । सानो उमेरमा गाउँघरका ढुङ्गामा चित्र कोर्दै हिँड्ने गरेको सम्झना पनि उनले सो अवसरमा व्यक्त गरे ।

साधारण जीवनशैली अपनाउने बराल आफूलाई आम मानिस ठान्छन् । पोखरेली युवा सांस्कृतिक परिवारले आफ्ना सम्मानित आजीवन सदस्य एवं सल्लाहकार वात्स्यानलाई रथारोहण गरेको हो । चैत ४ मा बराल ८० पूरा गरी ८१ वर्ष प्रवेशको अवसर पारेर पोखराका अन्य ३१ संस्थाले बराललाई अभिनन्दन गरेका हुन् ।

विस २०३० मा नाफामा एकल कला प्रदर्शनी गरेका बरालले कलालाई आजसम्म पनि माया गरिरहेका छन् । विसं १९९९ चैत ५ गते साविक आर्बा हालको पोखरा महानगरपालिका–१३ मा मध्यमवर्गीय किसान परिवारमा जन्मिएका दुर्गा बराल हरिवंश र कलावतीका जेठा छोरा दुर्गाले तीन वर्षको उमेरमै आमा गुमाउनुपरेको थियो । पञ्चायतकालमा नै नाम चलेका पत्रपत्रिका राष्ट्रपुकार, मातृभूमि, प्राङ्गण, देशान्तर, सुरुचि, गोरखापत्र र कान्तिपुर दैनिकमा उनका कार्टुन प्रकाशन भएका छन् ।

इटली, स्वीटजरल्याण्ड, बेलायत, जर्मनी, तिब्बत, भारत, बङ्गलादेशमा उनले समूहगत कला प्रदर्शनी गरेका छन् । उनले छ पटक एकल प्रदर्शनी र सामूहिकरूपमा एक सय ५० वटा जति प्रदर्शनी गर्नुभएको छ । विसं २०४० मा उनले ‘चोक र तमसुक’ शृङ्खलाका कला प्रदर्शनी गरे, जसले नेपाली समाजको यर्थाथलाई झल्काएको छ ।

बराल सर्वोत्तम कला पुरस्कार २०३८, शिरोमणि पुरस्कार २०४९, नवरत्न सम्मान २०५९, विपी कोइराला पत्रकारिता पुरस्कार २०६९, गोपालदास पत्रकारिता पुरस्कार २०६३, प्रेस स्वतन्त्रता सेनानी २०६४, राष्ट्रिय प्रतिभा पुरस्कार २०६४, जगदम्बाश्री पुरस्कार २०७३ बाट सम्मानित भएका छन् ।

धेरै पढिएका

पछिल्ला अपडेट