देशका विभिन्न स्थानमा वर्षा

रंग नेपाल २०७९ चैत ५ मा प्रकाशित

काठमाडौं । हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव कायम छ । त्यसका कारण देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका मौसमविद् गोविन्दकुमार झाका अनुसार अहिले राजधानी काठमाडौं उपत्यकासहित देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । अपराह्नतिर देशका पहाडी भूभाग र तराई क्षेत्रमा मेघगर्जन, चट्याङसहित क्षणिक हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । ‘भर्खरै पनि पश्चिमबाट दिपायल, धनगढीको आकाश भएर नयाँ किसिमको मौसमी प्रणाली प्रवेश गरेको छ, त्यसले गर्दा मेघगर्जन, बदलीसहित वर्षा गराउने बादलको विकसित भएको छ र यो प्रणाली अपराह्नसम्म रहनेछ’, मौसमविद् झाले भने ।

अबका दुई/तीन दिनसम्म देशका पहाडी भूभाग र तराईका केही स्थानमा बदली, मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । महाशाखाको विगत एक घन्टाको विवरणमा डडेलधुरामा तीन मिलिमिटर वर्षा मापन गरिएको छ । ताप्लेजुङ, जुम्लालगायत स्थानमा अहिले वर्षा भइरहेको छ । काठमाडौंमा अपराह्नतिर मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । स्थानीय वायुसँगै पश्चिमी वायु र स्थानीयरुपमा न्यूनचापीय प्रणालीको विकास भई वर्षा गराउने प्रणाली विकसित भइरहेकाले उक्त प्रणालीले बदली गराउने र मेघगर्जन, चट्याङसहित वर्षा गराउने मौसमविद् झाको भनाइ छ ।

धेरै पढिएका

पछिल्ला अपडेट