एकै दिन १७ जनामा कोरोना संक्रमण देखियो

रंग नेपाल २०७९ चैत ९ मा प्रकाशित

काठमाडौं । नेपालमा कोरोना भाइरसको संख्या आज ह्वात्तै बढेको छ । शून्यमा झरेको संक्रमण आज एकै दिन १७ जनामा देखिएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज एक हजार चार सय ५४ जनामा गरिएको परीक्षणमा १७ जनामा संक्रमण देखिएको छ । चैत ७ र चैत ८ गते भने शून्य संक्रमित रहेका थिए । चैत ७ गते नौ सय नौ र चैत ८ गते एक हजार तीन सय ८७ जनामा कोरोना परीक्षण गराइएको थियो ।

सक्रिय संक्रमित पनि बढेको पाइएको छ । आज ३० जना सक्रिय संक्रमित रहेका छन् । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासले भारतमा कोरोना भाइरसको संक्रमण बढिरहेकाले त्यसको प्रभाव नेपालमा परेको बताए ।

“भारतमा संक्रमण बढिरहेको छ । भारतबाट संक्रमित नेपाल आइरहेका छन्”, उनले भने, “हिजोमात्र सीमानाकाबाट सात संक्रमित नेपाल आएका छन् ।” उनले खुला सीमाबाट संक्रमित नेपाल आइरहेकाले सीमानाकामा परीक्षणलाई कडाइ गरिएको बताए । उनले जनस्वास्थ्यका मापदण्ड र अतिरिक्त खोप लगाउन आग्रह गरे ।

मन्त्रालयले कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि अतिरिक्त मात्रा (बुस्टर डोज) सबैलाई लगाउन निर्देशन दिएको छ । अहिले उपत्यकासहित सबै ठाउँमा बुस्टर डोज लगाउने अभियान सञ्चालनसमेत भइरहेको छ ।

धेरै पढिएका

पछिल्ला अपडेट