चलचित्र बोर्ड सदस्यमा बुढाथोकी र अधिकारी नियुक्त

रंग नेपाल २०७९ चैत ११ मा प्रकाशित

काठमाडौं । चलचित्र विकास बोर्डमा रिक्त रहेको सदस्य पदमा दुई चलचित्रकर्मी नियुक्त भएका छन् । रिक्त रहेका तीनमध्ये दुई पदमा निर्देशक केएल बुढाथोकी र निर्माता रवि अधिकारी नियुक्त भएका हुन् ।

शुक्रबार सदस्यको हैसियतले बोर्डमा पदभार ग्रहण गर्दै सदस्य अधिकारीले चलचित्र विकासका लागि काम गर्ने बताए । “पत्रकारिता र चलचित्र निर्माणबाट संगालेको अनुभवले यहाँ काम गर्नेछु, बाहिर हुँदा देखेको समस्यालाई समाधान गर्ने स्थानमा पुगेको छु”, सदस्य अधिकारीले भने । गत बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले उनीहरुलाई दुई वर्षका लागि बोर्ड सदस्यमा नियुक्त गर्ने निर्णय गरेको थियो ।

नेपाल पत्रकार महासंघ दाङ शाखाका पूर्वअध्यक्षसमेत रहेका सदस्य बुढाथोकीले थारु भाषाको चलचित्र ‘भुइँयार’ र ‘लावाजुनी’को निर्देशन गरेका छन् । यस्तै चलचित्र पत्रकार संघ नेपालको चितवन शाखाका निवर्तमान अध्यक्षसमेत रहेका अधिकारी विगत डेढ दशकदेखि मनोरञ्जन पत्रकारितामा सक्रिय छन् । अधिकारीले ‘पञ्चायत’ र ‘बाबु कान्छा’ निर्माण गरेका छन् । बोर्डमा अझै एक सदस्य र केन्द्रीय चलचित्र जाँच समितिमा तीन सदस्य नियुक्त हुन् बाँकी छ ।

धेरै पढिएका

पछिल्ला अपडेट