चलचित्रको सफलतामा सशक्त गीत–सङ्गीत

रंग नेपाल २०७९ चैत ११ मा प्रकाशित

काठमाडौं । नेपाली चलचित्र सफल हुनुको एउटा महत्वपूर्ण कारण गीतसङ्गीत मानिन्छ । दर्शकलाई हलसम्म ल्याउन गीतसङ्गीतले प्रचारप्रसारको भूमिका निर्वाह गर्ने गरेको छ। पछिल्लो समय ‘भिडियो शेयरिङ साइट’ टिकटकमा समेत गीत–सङ्गीत लोकप्रिय हुने गरेको छ ।

प्रेम गीत, नाई नभन्नु ल, म यस्तो गीत गाउँछुलगायत चलचित्रमा गीतसङ्गीत झैँ कथावस्तुले चर्चा पाउन सकेन । प्रचारप्रसारको सशक्त माध्यम मानिएता पनि केही समययता भने गीतसङ्गीतमा उलेख्य लगानी भएको पाइँदैन ।

भिडियोमा बढी लगानी गर्दा गीतसङ्गीतको स्तरमा कमी आएको सङ्गीतकार अर्जुन पोखरेल स्वीकार्छन् । ‘चलचित्रमा हुने गीतसङ्गीत जति सुन्दर भयो त्यति नै चर्चा हुन्छ। एकलरूपमा गीतिसङ्ग्रहमा आउनेमा भने त्यो लागु हुँदैन’, उनले भने। स्टुपिड मन, प्रेम गीत, ऐश्वर्य, म यस्तो गीत गाउँछु सफल हुनुको कारण गीतसङ्गीत नै भएको पोखरेलको भनाइ छ ।

चलचित्र निर्माणमा लागत बढेकै कारण दृश्यमा खर्च कम भइरहेको नृत्य निर्देशक रामजी लामिछानेले बताए । ‘काममा बजेटले असर गर्छ। हामीले स्वतन्त्र रूपमा खर्च गर्दा त्यसबाट निर्मातालाई पुग्ने फाइदा पनि विचार गर्नुपर्छ’, उनले भने, ‘केही निर्माता गीतलाई भिडियोमा कुनै कमी नहोस् भन्ने हुनुहुन्छ भने केही ठीकठाक गरौँ भन्ने पनि हुनुहुन्छ । उहाँहरूकै इच्छाअनुसार हामी काम गरिरहेका हुन्छौं ।’

सङ्गीतकार शम्भुजित बाँस्कोटा गीत सङ्गीतमा गरिएको लगानीले निर्माण पक्षलाई फाइदा पुग्ने बताउँछन् । ‘पहिला चाडपर्वलाई लक्षित गर्दै गीत तयार गर्नाका साथै सोही सन्दर्भसमेत पर्दामा राखिन्थ्यो। त्यसैले चाडपर्वमा नयाँको तुलनामा पुराना गीत नै लोकप्रिय छन्’, उनले भने ।

प्रदर्शनरत चलचित्र ‘छक्का पञ्जा ४’ सफल चलचित्रका रूपमा प्रर्दशन भइरहेको छ। यसको गीतसङ्गीतसमेत दर्शक तथा श्रोतामाझ लोकप्रिय बनिरहेको छ ।

घरेलु बजारसँगै विदेशमा समेत राम्रो व्यापार गरिरहेको चलचित्रको सफलतामा गीतसङ्गीतको भूमिका बिर्सन नसकिने निर्माता निर्मल शर्माले बताए । ‘हामीप्रति दर्शकको विश्वास छ। साथै गीतसङ्गीतलेसमेत सामाजिक सञ्जालमार्फत् प्रचारमा सघाएको छ’, उनले भने । रासस

धेरै पढिएका

पछिल्ला अपडेट