काठमाडौंमा बुद्ध थिएटर फेस्टिभल जारी

रंग नेपाल २०७९ चैत १६ मा प्रकाशित

काठमडौं  । यही चैत १३ गतेदेखि काठमाडौंको जमलस्थित नाचघरमा भइरहेको तेस्रो संस्करणको ‘बुद्ध थिएटर फेस्टिभल–२०२३’ मा बुधबार दुई नाटक मञ्चन भएको छ ।

बुधबार दिउँसो १ बजे निकिता गुरुङ निर्देशित नाटक ‘प्रतिविम्ब’ र साँझ ५ बजे गीता घिमिरे थापा निर्देशित नाटक ‘पट्टाचारा’ मञ्चन गरिएको हो । नाटक ‘प्रतिविम्ब’मा बाउ छोराबीचको प्रेम देखाइएको छ । छोरा गुम्बा बसेपछि आएको परिवर्तनको कथा समेटिएको नाटकमा टेकविक्रम थापा, अनिषा न्यौपाने, रमेशबहादुर खडका, मनिष चौलागाईं, नरहरि पराजुली, सलिना क्षत्री, सुुशीला थापा, पार्वती गिरी र चन्द्रकुमार सरु मगरले अभिनय गरेका छन् ।

बुधबारनै मञ्चन गरिएको नाटक ‘पट्टचारा’मा आफ्नै नोकरको मायाप्रेममा परेकी एक सुन्दरीको प्रेम र सङ्घर्षलाई देखाइएको छ । बुद्धलाई भेटेपछि ती युवतीमा आएको परिवर्तन प्रस्तुत गरिएको नाटकमा निशान खत्री क्षत्री, अञ्जली शाह, रमेश देवकोटा, रेखा कटुवाल श्रेष्ठ, सुशील दाहाल, खगेन्द्र बोहरा, पार्वती गिरी, मनिष चौलागाईं, वीरेन्द्र बुढामगर, प्रदीप राई, विमला सापकोटा, श्रीकृष्ण शाहीलगायतले अभिनय गरेका छन् ।

गौतमबुद्धको जीवनी र दर्शनलाई रङ्गमञ्चमार्फत प्रस्तुत गर्दै सन्देश विश्वभर फैल्याउने उद्देश्यले महोत्सवको आयोजना गरिएको सांस्कृतिक संस्थानका महाप्रबन्धक अशोक राईले बताए । “हाम्रो उद्देश्य रङ्गमञ्च र नाट्यकर्मीमार्फत सन्देश प्रवाह गर्नु हो । यसैले हामीले यसलाई निरन्तरता दिइरहेका छौँ”, अध्यक्ष राईले भने ।

महोत्सवका निर्देशक रङ्गकर्मी पुष्कर गुरुङले सात नाटक चयन भएको र त्यहीअनुसार मञ्चन भइरहेको जानकारी दिए । “विश्वभर विभिन्न किसिमका महोत्सव भइरहेका हुन्छन् । हामीले बुद्धको विषयवस्तुमा महोत्सव गर्ने सोचअनुसार सुरू गरेका हौँ । नाटकमा मनोरञ्जनसँगै दर्शकलाई बुद्धको ज्ञान र दर्शनलाई प्रस्तुत गरेका छौँ”, निर्देशक गुरुङले भने । यसअघि फेस्टिभलमा विदेशी नाटक पनि समावेश गरिएको थियो । तर, राम्रो कथावस्तु भएको विदेशी नाटक नआएपछि यसपटक नेपाली नाटक मात्र समेटिएको छ । महोत्सवमा बिहीबार वर्षा भण्डारी निर्देशित नाटक ‘पश्चात्ताप’ र सस्मिल मगर निर्देशित ‘आम्रपाली’ मञ्चन हुँदैछ । शुक्रबार समापन अगाडि वीरेन्द्र हमाल निर्देशित ‘चक्षु’ मञ्चन गरिनेछ ।

धेरै पढिएका

पछिल्ला अपडेट