‘नेपाल युरोपियन युनियन चलचित्र महोत्सव’ को बाह्रौँ संस्करण हुँदै

रंग नेपाल २०८० वैशाख ८ मा प्रकाशित

काठमाडौं  । नेपालस्थित द डेलिगेसन अफ द युरोपियन युनियन टू नेपालको आयोजनामा हुने ‘नेपाल युरोपियन युनियन चलचित्र महोत्सव’ को बाह्रौँ संस्करणमा सद्भावनादूतका रूपमा अभिनेत्री मिरूना मगर नियुक्त भएकी छिन् ।

‘कबड्डी ४ : द फाइनल म्याच’ मा अभिनय गरेदेखि दर्शकमाझ स्थापित भएकी अभिनेत्री मगर अभिनित ‘जारी’ प्रदर्शनरत छ । उक्त चलचित्रलाई समीक्षक र दर्शक दुवैले मन पराएका छन् ।

चलचित्र महोत्सव तीन स्थानमा आयोजना हुने द डेलिगेसन अफ द युरोपियन युनियनका सूचना अधिकारी अम्बर मैनालीले जानकारी दिए । “यस वर्षको संस्करणमा आठ युरोपेली र आठ नेपाली छोटा चलचित्र देखाइने छ । सन् २०२३ लाई मानवअधिकारको विश्वव्यापी घोषणाको ७५औँ वार्षिकोत्सवका रूपमा मनाउँदै आइएकाले यस वर्षको नारा ‘सेलिब्रेटिङ ह्युमन राइट्स फर अल’ छनोट गरेका छौँ”, उनले भने।

सूचना अधिकारी मैनालीका अनुसार वैशाख १५ देखि १७ गतेसम्म सुदूरपश्चिम विश्वविद्यालय महेन्द्रनगर, २० देखि २२ गतेसम्म सुर्खेतस्थित मध्यपश्चिम विश्वविद्यालय र २९ देखि जेठ १ गतेसम्म काठमाडौंस्थित चलचित्र विकास बोर्डको हलमा महोत्सव आयोजना हुँदैछ ।

धेरै पढिएका

पछिल्ला अपडेट