‘अम्बर गुरुङ राष्ट्रिय सङ्गीत पुरस्कार’ गीतकार खरेललाई

रंग नेपाल २०८० वैशाख १६ मा प्रकाशित

गण्डकी । प्रसिद्ध सङ्गीतकार अम्बर गुरुङको नाममा पोखरेली युवा सांस्कृतिक परिवारद्वारा स्थापित ‘अम्बर गुरुङ राष्ट्रिय सङ्गीत पुरस्कार’ पहिलोपटक वरिष्ठ गीतकार किरण खरेललाई प्रदान गरिने भएको छ ।

रु दुई लाख राशिको सो पुरस्कार आगामी शनिबार पोखरामा आयोजना हुने पुरस्कार समारोहमा गीतकार खरेललाई समर्पण गरिने पोखरेली युवा सांस्कृतिक परिवारका अध्यक्ष उपेन्द्र पौडेलले जानकारी दिए ।

छ दशकदेखि निरन्तर गीत लेखनमा साधनारत खरेलले नेपाली सङ्गीतजगत्मा पुर्‍याएको विशिष्ट योगदानका लागि पुरस्कार प्रदान गर्न लागिएको उनको भनाइ छ ।

पुरस्कारमा नगदसहित ताम्रपत्र र दोसल्ला रहनेछ । साहित्य, कला र सङ्गीतको उत्थानमा क्रियाशील परिवारले नेपाली सङ्गीत क्षेत्रका शिखर व्यक्तित्व अम्बर गुरुङको स्मृति एवम् सम्मानमा गत वर्ष उक्त पुरस्कार स्थापना गरेको थियो । दिवङ्गत गुरुङ नेपाली राष्ट्रगानका सङ्गीतकार, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका संस्थापक कुलपतिसमेत हुन् ।

पुरस्कारको कोषमा रु २० लाख रहेको परिवारले जनाएको छ । कोष स्थापनामा विभिन्न संघसंस्था र व्यक्तिले हातेमालो गरेको अध्यक्ष पौडेलले उल्लेख गरे । पुरस्कार कोषलाई बढाएर रु २५ लाख पुर्‍याउने लक्ष्य लिइएको छ ।

धेरै पढिएका

पछिल्ला अपडेट