मोहिनी एकादशी पर्व मनाइँदै

रंग नेपाल २०८० वैशाख १८ मा प्रकाशित

काठमाडौं । प्रत्येक वर्ष वैशाख शुक्ल एकादशीमा दुःख र पापबाट मुक्तिका लागि व्रत गरी मनाइने पर्व यस वर्ष आज मनाइँदैछ । मोहिनी एकादशीका नामले चिनिने यो दिन व्रत गर्नाले मानिस दुःख र पापको मोहजालबाट मुक्त हुने प्रशङ्ग विभिन्न पुराणमा उल्लेख गरिएको छ ।

यो एकादशीको माहात्म्य पछिल्लो समय भगवान् श्रीकृष्णले युधिष्ठिरलाई बताएको ती ग्रन्थमा उल्लेख गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्रा डा देवमणि भट्टराईले जानकारी दिए ।

वैशाख शुक्ल एकादशीका दिनमा पर्ने मोहिनी एकादशी व्रतका विषयमा त्रेता युगमा रामचन्द्रले पनि गुरु वशिष्ठसँग प्रश्न गरेका थिए । सीता वियोगका बेला दुःख र कष्ट नाशका लागि भगवान् रामचन्द्रले गुरु वशिष्ठसँग यो जिज्ञासा राखेपछि यसको महत्वका बारेमा उनले प्रष्ट पारेको कथा रामायणलगायत ग्रन्थमा पनि उल्लेख गरिएको छ ।

गुरु वशिष्ठले सरस्वती नदी किनारको भद्रावती नामक नगरका राजाका कान्छा छोराको कथासमेत सुनाएर यो एकादशी व्रतका बारेमा प्रष्ट पारेको शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ । आजका दिन व्रत गरेमा दुःख, कष्टलगायत मोहजालबाट मुक्त भइने शास्त्रीय मान्यता रहेको छ ।

धेरै पढिएका

पछिल्ला अपडेट