जोनीले रद्द गरे सांगीतिक टुर

रंग नेपाल २०८० जेठ १६ मा प्रकाशित

लसएन्जल्स । ‘पाइरेट्स अफ द क्यारेबियन’ फेम्ड अभिनेता जोनी डेप पछिल्ला दिनमा व्यक्तिगत जीवनका कारण चर्चामा आए । उनी र उनकी पूर्व पत्नी एम्बर हर्डबीच भएको कानुनी लडाईंमा सबैको नजर थियो । तर यी दुईबीचको मुद्धा टुंगो लागेसँगै अभिनेता निजी जीवनका कारण पुनः चर्चामा छन् ।

हालै फ्रान्समा सम्पन्न ‘कान्स फिल्म फेस्टिभल’मा उनले ‘आफूलाई हलिउडको आवश्यकता नरहेको’ बताएपछि चर्चामा छन् । जोनी अभिनयमा मात्र होइन, सांगीतिक क्षेत्रमा पनि उत्तिकै चिनिएका छन् । यिनै जोनीले स्वास्थ्य समस्या देखाउँदै आफ्नो आगामी सांगीतिक यात्रा रद्द गरेका छन् ।

जोनीले आफ्नो व्याण्डका साथ एक सांगीतिक यात्रा गर्ने तयारी गरिरहेका थिए । तर उनको खुट्टाको जोर्नी फुटेपछि उनले यात्रा रद्द गरेका हुन् । उनले आफ्नो इन्स्टाग्रामबाट आफू घाइते भएको जानकारी दिँदै चिकित्सकले सबै गतिविधिबाट केही समयका लागि टाढा रहन सुझाव दिएको उल्लेख गरेका छन् ।

‘मलाई यो कुरा भनिरहँदा दुःख लागेको छ कि मेरो खुट्टाको जोर्नी फ्याक्चर भएको छ । यो एक हेयरलाइन ब्रेक थियो, तर कान्स र रोयल अल्बर्ट हलको बेला यो राम्रो हुनुको सट्टा झन बिग्रियो । कैयौं चिकित्सकले मलाई दृढताका साथ मलाई यो समय कुनै गतिविधि नगर्न सुझाव दिएका छन् । यो समय म सांगीतिक यात्रा गर्न असमर्थ छु,’ उनले लेखेका छन् ।

उनले पोस्टमा व्याण्डका केही आगामी कन्सर्टको मिति पुनः फाइनल गर्न र त्यो रद्द हुनुपर्ने कारण पनि लेखेका छन् । ‘म र मेरो व्याण्डले न्यू हेम्पशायरमा प्रस्तुत हुन पाएनौं । यसको मलाई निकै दुःख लागेको छ । तपाईंहरु नडराउनुहोला । हामी युरोपमा तपाईंहरु सबैका लागि एक अद्भुत शो ल्याउँछौं । यो गर्मीको अन्त्यमा इस्ट कोस्टमा उत्कृष्ट प्रदर्शन गर्नेछौं,’ उनले लेखेका छन् ।

जोनी रक सुपरग्रुप हलिउड भेम्पायर व्याण्डको हिस्सा हुन् । जसलाई सन् २०१२ मा जोनी, एलिस कुपर र जो पेरीले स्थापना गरेका थिए ।

धेरै पढिएका

पछिल्ला अपडेट