एलिजा गौतमले गरिन् सक्रिय राजनीति त्यागेको घोषणा

रंग नेपाल २०८० असार २१ मा प्रकाशित

काठमाडौं । नायिका एवम् मोडल एलिजा गौतमले आफूले सक्रिय राजनीति त्यागेको घोषणा गरेकी छिन् । पाँच महिनाअघि नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेर राजनीतिमा जोडिएकी गौतमले देश र जनताको सेवा गर्ने भन्दै राजनीति त्यागेको घोषणा गरेकी हुन् ।

चर्चित पत्रकार ऋषि धमलाकी पत्नी समेत रहेकी गौतमले सामाजिक सञ्जालमार्फत राजनीति त्यागेको घोषणा गरेकी हुन् । सो घोषणामा उनले धरानका मेयर हर्क साम्पाङलाई भेटेपछि राजनीति छोड्ने मनसाय बनेको संकेत गरेकी छिन् ।आफू हर्क सामपाङको कामबाट प्रभावित भएको बताउँदै उनले साम्पाङलाई भेटेर वृक्षारोपण गरेको र १० वटा सावेल उपहारस्वरुप प्रदान गरेको समेत जनाएकी छिन् ।

‘धरान उपमहानगरका मेयर हर्कराज राईको कामबाट प्रभावित छु । उहाँ धराने जनताको सुख र सुविधाका लागि अहोरात्र खटिरहनुभएको छ । उहाँप्रति सधैं उच्च सम्मान छ । देश र जनताको लागि केही गर्छु भन्ने जो कोहीलाई पनि हर्कजी प्रेरणाको स्रोत हुनुहुन्छ,’ उनले लेखेकी छिन्, ‘आज उहाँको श्रम शिविरस्थल पुगेर प्रत्यक्ष भेटवार्ता गर्ने अवसर मिलेको छ । म निकै खुसी छु । सो अवसरमा मेयर साहेबसँगै मैले पनि वृक्षारोपण गर्ने अवसर पाएँ । श्रम शिविरका लागि मैले आफ्नो व्यक्तिगत खर्र्चबाट १० वटा साबेल पनि प्रदान गरेकी छु । यहाँहरुले पनि आफ्नो तर्फबाट साथ र सहयोग गरिदिनुहुन अपिल गर्दछु ।’

गौतमले साम्पाङलाई प्रेरणाको स्रोत मान्दै दलको सक्रिय राजनीति गर्नेलाई धरान पुगेर साम्पाङको काम हेर्न समेत सुझाव दिएकी छिन् । ‘दलको सक्रिय राजनीति गर्नेहरुलाई एकचोटी धरान आएर मेयर हर्कजीको काम हेर्न अनुरोध गर्दछु । यसपटक म सामाजिक कामको सिलसिलामा धरान आएकी हुँ । मेरा आगामी दिन समाजसेवामा नै सक्रिय रहनेछन् । अहिलेलाई सक्रिय राजनीतिबाट विश्राम लिएको पनि यसै पोष्टमार्फत घोषणा गर्दछु ।’

धेरै पढिएका

पछिल्ला अपडेट