सुरक्षालाई भूमिका निर्वाह गर्न गाह्रो लागेको चलचित्र ‘जुलेबी’ को–कसले हेर्न पाउँदैनन् ?

रंग नेपाल २०८० साउन ३२ मा प्रकाशित

काठमाडौं । अभिनेत्री सुरक्षा पन्त स्टारर चलचित्र ‘जुलेबी’ भोलि शुक्रबारदेखि देशभरका हलमा प्रदर्शनमा आउँदैछ ।

गणेशदेव पाण्डेको लेखन एवम् निर्देशनमा बनेको यो चलचित्रमा यौनकर्मी पात्रको भूमिकामा छिन् सुरक्षा, जसको कथा रत्नपार्कसँग जोडिएको छ । चलचित्रको पात्र आफूले अहिलेसम्म निर्वाह गरेकामध्येको गाह्रो लागेको नायिका सुरक्षा सुनाउँछिन् । त्यसको कारण हो, समाजको संवेदनशील पात्रको भूमिका निर्वाह गर्दै थिइन् उनी । त्यसमाथि यो पात्रको तयारीका लागि यौनकर्मी महिलासँगै बसेर कुरा गर्दा पनि उनीहरु हच्किने डर रहन्थ्यो । उनीहरु खुलेर कुरा गर्ने सम्भावना कम रहन्थ्यो ।

यद्यपि, जति धेरै इन्फरमेसन आयो, त्यति पात्रलाई न्याय गर्न सक्थिन् । त्यसैले त्यो पात्रको तयारी गर्न गाह्रो हुने उनलाई सुरुवातमै लागेको थियो । तर, उनी हरेक चलचित्रमा चुनौती मोल्न तयार अभिनेत्री हुन् । यसअगाडिका चलचित्रबाट उनले त्यो कुरा प्रमाणित गरिसकेकी छिन् । ‘जुलेबी’मा पनि उनले चुनौती मोल्न तयार भइन् ।

त्यसका लागि केही पूर्वं तयारी गर्नु पर्ने थियो, वास्तविक पात्र हेर्न रत्नपार्क पुगिन् । तर, त्यसरी जाँदा पात्रसँग भेट्न पाइनन् । कोहीसँग बोल्न, कुरा गर्न पाइनन् ।

चलचित्रकै सदस्यमार्फत एकजना यौनकर्मी महिलासँग भेट गर्ने अवसर मिल्यो । ‘उहाँले एउटा कलाकारका रुपमा महिला चिन्नुहुँदो रहेछ । तपाईको चलचित्र हेरिरहेको हुन्छु भन्नुभयो । भेट्दाखेरी नै खुशी हुनुभयो’ सुरक्षा पात्रको तयारीका कुरा सुनाउँछिन् ‘उहाँलाई विश्वास लाग्यो होला सायद, धेरै कुराहरु मज्जाले सेयर गर्नुभयो । त्यसले मलाई पात्रको तयारीका लागि धेरै सहज भयो ।’

एउटै पात्रलाई नियालेर बस्नुपर्दा बडिल्याङवेजका लागि भने उनलाई ‘टफ’ भयो । यद्यपि, अन्य यौनकर्मी महिलासँग कुरा गर्ने अवसर नपाएपनि उनीहरुको ‘बडिल्याङवेज’ नियालिन् । धेरै पात्रबाट थोरै धेरै कुराहरु लिइन् र अर्कै फ्यूजनको पात्रमा आफूलाई ढाल्दै गइन् । ‘मेरो पात्र हेर्दाखेरी एउटै क्यारेक्टरजस्तो नदेखिएको राम्रो । कोही पनि व्यक्तिलाई इंकित गरेको जस्तो नदेखिएको राम्रो । यो को हो, को हो ? भनेको जस्तो देखिनु अझ राम्रो हो । त्यसले संवेदनशीलता मेन्टेन गर्छ’ उनले भनिन् ‘मैले सबैबाट अलिअलि बडिल्याङवेज लिएकी हुँ । यो केटी अलिकति हावा पनि छ । सिरियस पनि छ । उडाइदिई पनि रहेको हुन्छ । घरिघरि राम्री पनि देखिइरहेको छ । घरीघरी कस्तो नराम्रो देखिइरहेको छ । त्यसरी सबै फ्यूजन गरेर तयार गरेको हो ।’

डबिङका क्रममा सुरक्षाले चलचित्र हेरिन्, त्यसपछि उनी चलचित्रलाई लिएर सन्तुष्ट छिन् । ‘दर्शकलाई कस्तो लाग्ने हो, त्यो त अहिले भन्न सक्दिन्’ उनले भनिन्, ‘तर, म चाहिँ सुखी छु । चलचित्रलाई लिएर सन्तुष्ट छु ।’

चलचित्रको कथा तह–तहमा रहेको उनले जानकारी दिइन् । सोहीकारण अर्को किसिमका दर्शकका लागि चलचित्र अझ रुचिकर हुनसक्ने अपेक्षा उनको छ । चलचित्रमा सुरक्षासँगै उषा रजक, नीशा अधिकारी, सुशील सिटौला, पुष्कर कार्की, तुफान थापा, मोनिका थापा लगायतको शीर्ष अभिनय छ । चलचित्रले रत्नपार्कसँग जोडिने यी शीर्ष पात्रको चाहना र जेलिएको मायाको कुरा गर्ने सुरक्षा बताउँछिन् ।

‘हामीले अलिकति लेयरवाला चलचित्र हेर्नै पाएका छैनौं, सबै सतही–सतही भयो । जेलिएका सम्बन्धहरुको बारेमा भित्री गहिराईसम्म पुगेका कथा खोइ त ? भनेर फरक खोज्नुभएका दर्शकहरुले अझ बढी रुचाउनुहुनेछ’ उनी भन्छिन्, ‘तर, अलि सटेन धार हेरिरहनुभएको, त्यसमा इन्जोय गरिरहनुभएका दर्शकहरु के गर्नुहुन्छ थाहा छैन् । यद्यपि, क्रिटिक्सबाट चाहीँ राम्रो फिडब्याक आउने अपेक्षा लिएकी छु ।’

१६ वर्ष मुनिका दर्शकले हेर्न नपाउने

चलचित्र ‘जुलेबी’ १६ वर्ष मुनिका दर्शकले हेर्न नपाउने भएका छन् । केन्द्रीय चलचित्र जाँच पास समितिले चलचित्र हेरेर एडल्ट सर्टिफिकेट दिएको छ । योसँगै रत्नपार्कको वरिपरीका यौनकर्मीको कथामा बनेको चलचित्रलाई १६ वर्ष मुनिका दर्शकले हेर्न पाउने छैनन् ।

चलचित्रको विषयवस्तु र सार्वजनिक टिजर र ट्रेलरले दर्शक माझ कौतुहलता पैदा गरेको छ । चलचित्रले दर्शकको मन छुनेमा निर्माण टस्म ढुक्क देखिएका छन् । कार्यकारी निर्माता नवीन भट्ट रहेको एन्थोलोजी जनरामा बनेको चलचित्रमा गणेशदेव पाण्डेको निर्देशन छ ।

धेरै पढिएका

पछिल्ला अपडेट