केपी ओलीले किन सम्झिए तीजमा कांग्रेसले महिला दिदीबहिनीलाई कुटेको घटना ?

रंग नेपाल २०८० भदौ २३ मा प्रकाशित

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले २०४८ सालमा नेपाली कांग्रेसका कार्यकर्ताले तीजको कार्यक्रम गरिरहेका महिला दिदीबहिनीहरूलाई कुटेको र बालबालिकालाई मकैबारीमा फलिदिएको घटना स्मरण गरेका छन् ।

एमाले निकट महिला संघले आज काठमाडौंमा आयोजना गरेको तीज कार्यक्रममा उनले अहिले पनि तीज कार्यक्रममा त्यस्ता आक्रमणहरू हुनसक्ने भन्दै पुरानो घटनाको स्मरण गरेका हुन् । सबै जाति एकै ठाउँमा भएको हेर्न मन नपराउनेहरूले फेरि पनि त्यस्ता घटना दाहोर्‍याउन सक्ने उनको कथन थियो । सबै जाती एकै ठाउँमा भएको हेर्न मन नपराउनेहरू अहिले पनि सक्रिय रहेको चर्चा गर्दै उनले सबै जातजातीका मान्छेहरू भेला भएर तीजलगायत धार्मिक पर्वहरू मनाएकामा बेखुश बनिरहेको बताए । उनले भने, ‘त्यस्ताहरूको मन अहिले पनि भतभति पोलिरहेको छ ।’

‘२०४८ सालमा तीजको कार्यक्रम गर्दा राति अर्घखाँचीमा नेपाली कांग्रेसका कार्यकर्ताहरू भेला भएर महिलाहरुमाथि कुटपिट गरेर, लछारपछार गरेर, बालबच्चाहरूलाई खासेर मकैबारीमा फालिदिएर आतंक मच्चाएका थिए, तीजको नाममा । त्यतिबेला नेपाली कांग्रेसकै सरकार थियो,’ अध्यक्ष ओलीले स्मरण गरे ।

सो घटनाबाट उत्पन्न परिस्थितिलाई सामान्य पार्न आफू अर्घाखाँची नै जानुपरेको पनि उनले सम्झिए । ‘त्यो समस्या समाधान गर्न मैले त्यहाँ जानु परेको थियो । अस्तीसम्म पनि त्यस्तो थियो, अहिले अहिले कम हुन खोज्या छ,’ ओलीले भने, ‘फेरि पनि भन्न सकिन्न । यस्ता चाडबाड मन नपराउनेहरु, अरु कुरा मन नपराउनेहरु, एकता मन नपराउने, सबै जातका मान्छेहरु एकै ठाउँ बसेको मन नपराउने मान्छे त झगडा गरेर बस्नुपर्नेमा कहाँ रमाएर एकैठाउँ छन् भनेर मन भतभत पोल्नेहरु अहिले पनि छदै्छन् । एउटै वडाका मान्छेहरु अहिले सँगै बसेर किन रमाएका होलान् भनेर पीर गर्नेहरु अहिले पनि छन् । साम्प्रदायिक सद्भाव भड्काउन खोज्नेहरु अहिले पनि छन् । त्यसकारण अहिले पनि यस्तो घटना दोहोरिन्न भन्न सकिदैन ।’

सामाजिक सद्भाव र एकता भड्काउने तत्वहरू फेरि सक्रिय भइरहेको र त्यस्ता तत्वबाट नेपाली धर्मसंस्कृति, परम्परा र एकता समेत संकटमा परेको भनाइ ओलीको थियो ।

धेरै पढिएका

पछिल्ला अपडेट