बीपी साहित्य सम्मेलनमा ‘वीर गणेशमान’ चलचित्र प्रस्तुत

रंग नेपाल २०८० भदौ २५ मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसले आयोजना गरेको ‘बीपी साहित्य सम्मेलन’अन्तर्गत आज सोमबार दोश्रो दिन विभिन्न सत्रमा बहस भएको छ ।

महोत्सवको दोस्रो दिन ‘वीर गणेशमान’ चलचित्र प्रस्तुत गरिएको छ भने भारतका प्रख्यात प्राध्यापक आनन्दकुमारले ‘मार्क्स, गान्धी एण्ड बीपी क्वेस्ट फर डेमोक्रेटिक सोसलिज्म टुडे’ विषयमा सम्भाषण प्रस्तुत गरिएको थियो । सो क्रममा प्राध्यापक आनन्द कुमारले समाजवादी नेता बीपी कोइरालाले जीवनभर सामान्तवादका विरुद्ध लडिरहेको बताए । पुँजीवाद असफल भएपछि सामान्तवाद बच्न सकेको भन्दै कम्युनिष्टहरूले पुँजीवादमा पार्टी सञ्चालन गरिरहेको उनको भनाइ छ ।

त्यस्तै, आज कांग्रेस महामन्त्री गगन कुमार थापाको सहजीकरणमा विज्ञहरू हरि शर्मा, विपिन अधिकारी, अच्युत वाग्ले र मञ्चला झासँग ‘बीपीले नपाएको १५ वर्ष’ विषयमा विचार मन्थन पनि गरिएको थियो । सो क्रममा मञ्चला झाले देशमा वैकल्पिक शक्ति आएपनि अहिले पनि आस्था र विश्वासको केन्द्रविन्दु कांग्रेस भएको बताइन् । उनले व्यवस्था फेरिइसकेको भन्दै पार्टी र देशको अवस्था फेर्नुपर्नेमा जोड दिइन् ।

त्यस्तै, विपिन अधिकारीले मुलुकको व्यवस्थालाई लगन र निष्टासहित कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । विभिन्न प्रदेशमा कांग्रेस नेतृत्वको सरकार बनाएर स्थिरता दिन सक्ने उनको भनाइ छ ।

त्यस्तै, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, प्रदीप ज्ञवालीलगायतको उपस्थितिमा ‘अन्तर्राष्ट्रिय राजनीति र कूटनीतिमा बीपी’ विषयमा छलफल भएको छ । बीपी कोइरालाको ११०औं जन्मोत्सवको अवसरमा कांग्रेस केन्द्रीय कार्यालय बीपी नगर सानेपा ललितपुरमा तीनदिने महोत्सव आयोजना गरिएको हो ।

धेरै पढिएका

पछिल्ला अपडेट