गंगा बरदानको ‘कहाँमा काट्यो बेतको लौरी’को नयाँ भिडिओ नयाँ भर्सनमा

रंग नेपाल २०८० कार्तिक ३ मा प्रकाशित

धरान । आजभन्दा ४५ वर्षअघि रेकर्ड भएको लोक गायक गंगा बरदानको लोकप्रिय गीत ‘कहाँमा काट्यो बेतको लौरी’ पुन नयाँ भर्सनमा रेकर्डिङ्गसँगै स्टुडियो भिडिओ समेत निर्माण गरी सार्वजनिक गरिएको छ ।

नेपाली बब मार्लीको रूपमा परिचित गायक बरदानले उक्त गीत २०३५ सालमा स्वर परीक्षा उत्तीर्ण नगरिकनै सिंहदरबारस्थित रेडियो नेपालमा रेकर्ड भएको थियो । पछि उनले २०५५ सालताका नमस्ते स्टुडियोका सञ्चालक तथा नमस्ते ब्याण्डका गायक ईश्वर गुरुङको सहयोगमा निकालिएको एल्बम ‘गंगा बरदान भाग १’ को लागि समेत पुन: रेकर्ड गरेका थिए ।

त्यसबेला यो गीतले अझ लोकप्रियता कमाएको थियो । अहिले भने रेगी भर्सनमा गीत तयार गरिएको छ । जुपिहाङ्ग लिम्बुको संगीत संयोजन रहेको गीत धरानको न्यु भावना स्टुडियोमा रेकर्ड भएको हो भने मिक्सिङ्ग डम्बर लिम्बुले गरेका हुन् ।

गंगा बरदानका केही पुराना गीतहरूलाइ पुन नयाँ साज सज्जामा ल्याउने क्रममा सिल्भर इन्टरटेनमेन्टको सक्रियतामा यो गीत तथा भिडिओ तयार भएको हो । उनका अन्य केही लोकप्रिय गीतहरू समेत रेकर्डिङ्ग भईसकेको छ । उक्त भिडिओ छायांकन तथा सम्पादन एडम लिम्बुले गरेका हुन् । सिल्भर इन्टरटेनमेन्टको युट्युब च्यानलमार्फत भिडिओ सार्वजनिक भएको हो ।

२०२५ सालताका आफ्नो जन्मथलो भोजपुरमै आयोजित लोक तथा नृत्य प्रतियोगितामा ‘दाई त काले भाई पनि काले काले काले मिलेर खाउँ भाले’ बोलको आफ्नै संकलन तथा स्वर रहेको गीत १६ वर्षको कलिलो उमेरमा नै गाएर दोस्रो स्थान प्राप्त गरेका गायक, रचनाकार तथा संगीतकार गंगा बरदानले नेपाली संगीत क्षेत्रमा आफ्नो ५० वर्षभन्दा बढी समय काटिसकेका छन् ।

आगामी मंसिरमा उनको सम्मानमा ‘गंगा बरदान स्वर्णिम साँझ’ समेत आयोजना गरी गायक गंगा बरदानको जीवनयापनको सहयोगको लागि केही रकम समेत जुटाउने लक्ष्य राखिएको सिल्भर इन्टरटेनमेन्टका प्रबन्धनिर्देशक सौरभ श्रेष्ठले बताए ।

धेरै पढिएका

पछिल्ला अपडेट