दशैंका बेला पढेका दुई डाक्टरका दुईवटा महत्वपूर्ण कृति

रंग नेपाल २०८० कार्तिक १३ मा प्रकाशित

ईश्वर पोखरेल । केही वर्ष पहिलेदेखि हामी नेपालीहरूले मुटु रोग विशेषज्ञका रूपमा डा. भगवान कोइराला र डा. ओम मूर्ति अनिललाई चिन्दै, बुझ्दै आएका हौं ।

केही समय पहिले प्रकाशित उहाँहरूका कृतिहरू- “ हदय”  (भगवान कोइराला) र “जीवन्त सम्वन्ध” (ओम मूर्ति अनिल)लाई यही दशैंमा अध्ययन गरेपछि उहाँहरू दुबैलाई अझ राम्ररी चिन्न बुझ्न सकियो भन्ने लागेको छ । उहाँहरू दुबैजना नेपालकै शैक्षिक संस्थाहरूबाट सिक्दै र पढ्दै आफ्नो योग्यता क्षमतामा समेत निखार ल्याउँदै विदेशका शैक्षिक संस्थाहरूबाट समेत उत्कृष्टता प्रदर्शन गर्दै आफ्नो मातृभूमिमै रहेर आफ्नै देशवासीहरूको सेवा गर्ने संकल्प बोकेर नेपालमै कार्यरत हुनुहुन्छ ।

डा. भगवानको “हृदय” ले एकैपटक धेरै महत्वपूर्ण कुराहरू बोलेको छ । भगवान ‘भगवान’ बन्नु पछाडिका त्याग, समर्पण र लगनशीलताका साहसिक कथाहरू, निष्ठा र निरन्तरतामा अखण्डित रूपमा बाँचेको एउटा पेशाकर्मीको जीवन, अन्तर्राष्ट्रिय जगतमासमेत परिचय कमाउन सफल ‘गंगालाल हृदय केन्द्र’ लाई प्रारम्भ समयदेखि यो स्तरसम्म ल्याइपुर्‍याउन खेलिएको भूमिका, सफलतापूर्वक गरिएको मुटु रोगीहरूको उपचार तथा शल्यक्रियाका कथाहरू, आम नागरिकहरूले सेवा प्राप्त गर्दा भोग्नुपरेको पीडादायी अवस्था र त्यस्ता जनतालाई सेवा प्रवाह गर्न खडा गरिएका संस्थाहरूको प्रभावकारी संचालनका लागि आवश्यक पर्ने विषयहरू तथा ती ठाउँमा जिम्मेवारी लिएकाहरूले खेल्नुपर्ने भूमिका, कार्यक्षेत्रमा अर्थात् भूईंमा उभिँदा प्राप्त भएका अनुभवका आधारमा डा. भगवानले निष्कर्षहरू निकाल्नु भएको छ । ती सबै कुरा अत्यन्त जीवन्त, सशक्त र उपयोगी छन् ।

केही वर्ष अगाडि सार्वजनिक भएको “म पनि डाक्टर” र हालसालै प्रकाशित भएको “जीवन्त सम्बन्ध “ यी दुई कृतिले डा. ओम मूर्ति अनिललाई विशेष परिचय दिलाएका छन् । यी कृतिमा डा. ओम मूर्ति अनिलले आफ्नो चिकित्सा सेवाको स्तरलाई जानकारी गराउने र त्यसमा थप निखार ल्याउने हिसाबले आफूलाई प्रस्तुत गर्नु भएको छ । साथै, यीनमा केवल बिमारी तथा तिनको उपचारको कुरा मात्र नभएर हाम्रा आफ्ना जीवनका मूल्यहरूलाई समेत अत्यन्त सरल र जीवन्त तरिकाले प्रस्तुत गर्नु भएको छ ।

पारिवारिक तथा सामाजिक सम्बन्धहरू कसरी मानवीय मूल्यका जग भइरहेका हुन्छन् भन्ने कुरालाई अत्यन्त सरल र जीवन्त उदाहरण सहित डा. मुर्तिले प्रस्तुत गर्नु भएको छ। दुवैजना डाक्टर सा’ब हरूमा देखिएको एउटा प्रशंसनीय र अनुकरणीय कुरा डा. ओम मूर्तिले आफ्नो पुस्तकको बिक्रीबाट प्राप्त हुने रकमबाट असहाय वृद्ववृद्वाका लागि सहयोग गर्ने एउटा ‘फाउण्डेसन’ निर्माण गर्ने घोषणा गर्नु भएको छ ।

त्यस्तै, डा. कोइरालाले प्रकाशनबाट प्राप्त हुने सहयोग साथै विशेष सहयोगबाट मुटु रोग पीडित बालबालिकाहरूको उपचार गर्ने एउटा अन्तर्राष्ट्रिय स्तरको अस्पताल बनाउने घोषणाका साथै कार्य प्रारम्भसमेत गरिसक्नु भएको छ । डाक्टर सा’बहरूका परोपकारी सेवाभाव प्रशंसनीय छन् ।

उहाँहरू बधाइ एवम् सम्मानका पात्र हुनुहुन्छ । उहाँहरूको काममा सहयोग पुर्‍याउनु हाम्रो पनि कर्तब्य हो । केही नभए पनि उहाँहरूका ती महत्वपूर्ण कृतिहरू सम्भव हुने सबैले अध्ययन गरौं ।

धेरै पढिएका

पछिल्ला अपडेट