हुम्ला र मुस्ताङमा हिमपात (तस्वीरहरु)

रंग नेपाल २०८० मंसिर १८ मा प्रकाशित

हुम्ला । हुम्लामा आज बिहानैदेखि हिमपात सुरु भएको छ । हिमपातपछि चिसो बढेसँगै यहाँको जनजीवन कष्टकर बन्दै गएको छ ।

सिमकोटसहित तल्लो भेगमा समेत हिमपात भइरहेको छ भने जिल्लाको उत्तरी उच्च क्षेत्रमा एक फिटसम्म हिमपात भएसँगै चिसोले जनजीवन कष्टकर बनेको छ । आज बिहानदेखि हिमपात भएसँगै अन्तरजिल्ला जोड्ने भए मात्रै यातायातको साधन हवाइसेवा पनि प्रभावित बनेको छ । जिल्ला बाहिर जाने यात्रु समेत सिमकोटमै रोकिएका छन् । बिहान, बेलुका र राति चिसो अत्यधिक बढेको स्थानीयले बताएका छन् । अहिलेसम्म सदरमुकाम सिमकोटमा चार इञ्चभन्दा बढी हिमपात भएको छ ।

यस वर्ष पहिलो पटक हिमपात भएको र यसले बालीलाई राम्रो गर्ने स्थानीयको भनाइ छ । जेठमा पाक्ने उवा, जौँ र गौँ बालीलाई यसपटक परेको हिउँले उत्पादनमा राम्रो गर्ने भएको छ । चिसोबाट बच्न यहाँका बासिन्दा, कर्मचारी, विद्यार्थीले दाउराको जोहो गर्दै आगो ताप्ने गरेको छ । चिसोबाट बच्न न्यानो भएर बस्न स्वास्थ्यकर्मीले सुझाव दिएका छन् ।

यसैबीच, मुस्ताङमा यस याममा पहिलो पटक हिमपात भएको छ । सोमबार बिहानैदेखि हिमपात भएको हो । सदरमुकाम जोमसोमदेखि आसपासका सबै क्षेत्रमा हिमपात भइरहेको सहायक बागलुङ प्रमुख जिल्ला अधिकारी रामप्रसाद सुवेदीले जानकारी दिए ।

बिहानैदेखि हिमपात भए पनि कार्यालयहरु सञ्चालन भएको उनको भनाइ छ । यातायताका साधान पनि निरन्तर चलिरहेका छन् । हिमपात भएपछि जनजीवन कष्टकर भए पनि किसान भने हर्षित भएका छन् । लामो समय वर्षा नहुँदा किसानका बाली सुक्न थालेका थिए ।

धेरै पढिएका

पछिल्ला अपडेट