काठमाडौंमा आज यस वर्षकै बढी चिसो

रंग नेपाल २०८० पुष २० मा प्रकाशित

काठमाडौं  । काठमाडौंमा आज यो वर्षकै बढी चिसो महसुस गरिएको छ । मौसम पूर्वानुमान महाशाखाकाअनुसार आज काठमाडौंको तापक्रम यो वर्षकै कम मापन गरिएको छ ।

महाशाखाकाअनुसार आज शुक्रबार बिहान काठमाडौंको न्यूनतम तापक्रम ३.७ डिग्री सेल्सियसमा झरेको हो । दिउँसो अधिकतम तापक्रम १६ देखि १८ डिग्री सेल्सियससम्म पुग्न सक्ने मौसमविद् गोविन्द झाले जानकारी दिएका छन् ।

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । महाशाखाकाअनुसार अहिले देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ । तराईका धेरै स्थानहरुमा हुस्सु/कुहिरो लागेको छ ।

दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ । कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागको एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राति कोशी र मधेश प्रदेश लगायत गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागको एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

धेरै पढिएका

पछिल्ला अपडेट