रेग्मीले ल्याए ‘नेपाली संगीत दरबार’

रंग नेपाल २०८० पुष २१ मा प्रकाशित

काठमाडौं । प्रा.डा. ध्रुवेशचन्द्र रेग्मीको ‘नेपाली संगीत दरबार’ पुस्तक प्रकाशित भएको छ । शनिबार राजधानीमा आयोजित विशेष सांगीतिक समारोहमा उक्त कृति सार्वजनिक गरिएको छ ।

कार्यक्रममा संगीतकार दीपक जंगमले बाहिरको सांगीतिक क्षेत्रमा नेपाली संगीतलाई कसरी फैलाउन सकिन्छ भन्ने विषयतर्फ पनि ध्यान दिन आवश्यक रहेको बताए ।

समाजमा संगीतलाई स्थापित गरेर यसको गरिमालाई कायम गर्ने विषय गम्भीर रहेको भनाइ उनको छ । उनले भने, ‘विश्व संगीतको अगाडि हामी जसरी गइरहेका छौं हाम्रो अगाडि चुनौती छ । सितारको जस्तो सांस्कृतिक विषयलाई, विश्व संगीतको क्षेत्रमा कसरी लान सक्छौ । यसलाई कसरी जोड्ने हो, यसप्रति विद्यार्थीहरुको रुचिलाई कसरी बढाउने, कसरी अगाडि लाने हो, आजको समाजमा यसलाई कसरी स्थापित गरेर यसको गरिमालाई कायम गर्ने हो भन्ने ठूलो चिन्ताको एउटा विषय छ ।’

कार्यक्रममा प्रा.डा. अभि सुवेदीले संगीत देशको इतिहास भएको भन्दै यसलाई संरक्षण गर्नुपर्ने बताए । उनले भने, ‘अहिलेको समयमा शास्त्रीय संगीतप्रतिको चासो किन घट्दै गएको छ, यसलाई संरक्षण गरेर राख्दा हुन्छ । राजनीतिक परिवर्तन भइरहन्छ तर यो भनेको देशको इतिहास हो, यसलाई संरक्षण गर्नुपर्छ भनेर पनि यो पुस्तकमा प्रस्ताव गरिएको छ ।’ उनले पुस्तकको विशेषताको व्याख्या गर्दै यसमा शास्त्रीय संगीतका साथसाथै लोक संगीत र वाद्यवादनको पनि विषयलाई समावेश गरिएको बताए ।

कार्यक्रममा सांगीतिक प्रस्तुति पनि दिएका पुस्तकका लेखक प्रा.डा.ध्रुवेशचन्द्र रेग्मीले नेपाली संगीतको आरोह अवरोह केलाउने प्रयास गरिएको बताए । उनले कृति प्रकाशन गर्न सघाउने सबैलाई धन्यवाद दिए ।

धेरै पढिएका

पछिल्ला अपडेट