वरिष्ठ साहित्यकार एवं पूर्वप्रधानमन्त्री चन्दलाई नागरिक अभिनन्दन गरिने

रंग नेपाल २०८० माघ २५ मा प्रकाशित

धनगढी । वरिष्ठ साहित्यकार एवं पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दलाई नागरिक अभिनन्दन गरिने भएको छ । उनलाई आगामी फागुन ३ गते कैलालीको धनगढीमा नागरिक अभिनन्दन गरिने भएको हो ।

नागरिक अभिनन्दन मूल समारोह समितिद्वारा आज कैलालीको धनगढीमा आयोजित पत्रकार सम्मेलनमा पूर्वप्रधानमन्त्री चन्दको ८४औँ वसन्त पूजनको अवसरमा उनलाई रथारोहणसहित अभिनन्दन गरिने जानकारी दिइयो । सो अवसरमा मूल समारोह समितिका संयोजक मायाप्रकाश भट्टले नेपाली सहित्य र राजनीतिको क्षेत्रमा पुर्‍याएको योगदानको सम्मान गर्न उनलाई अभिनन्दन गर्न लागिएको बताए ।

साहित्यकार चन्दका पाहुना घर, विसर्जन, इन्द्र धनुष, तिम्रो झलक, अपराजिता, हिउँको तन्ना, सन्ध्यावली, अपरिचित, बाह्रौँ खेलाडी, लेमिङहरु, रात्री भोज, नेताका साथीलगायत कृति प्रकाशित छन् ।

वरिष्ठ साहित्यकार चन्दको ‘विसर्जन’ कृतिले २०५४ सालमा नेपालको प्रतिष्ठित ‘मदन पुरस्कार’ पाएको थियो ।

चार पटक देशको प्रधानमन्त्रीको जिम्मेवारी बहन गरिसकेका चन्दलाई नागरिक अभिनन्दन गर्न सुदूरपश्चिमका लेखक, कवि, साहित्यकार र समाजसेवीको भेलाले नागरिक अभिनन्दन मूल समारोह समिति गठन गरेको थियो ।

धेरै पढिएका

पछिल्ला अपडेट