नागदेवता भन्दै दैनिक सैयौं मानिसले पूजा गर्ने सर्प मृत फेला

रंग नेपाल २०८० माघ २९ मा प्रकाशित

रौतहट । रौतहटको फतुवा विजयपुर नगरपालिका ३ स्थित नाग देवता भनेर दैनिक सैयौं मानिसले पूजा गर्दै आएको सर्प मृत फेला परेको छ । तीन साता अघिदेखि फतुवा विजयपुर वडा ३ मेवा गाउँ र टेंग्राहाको बीचमा नाग ९सर्प० देखिएको थियो । सोमबार बिहान एकजना स्थानीयले उक्त सर्पलाई मृत अवस्थामा फेला पारेका हुन् ।

स्थानीय महिलाहरुले मृत सर्पप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् भने मृत सर्पलाई हेर्नेको घुँईचो लागेको छ । उक्त स्थानमा दैनिक बिहानैदेखि नाग देवताको दर्शन गर्नेहरूको भीड लाग्ने तथा दैनिक सयौं मानिसले पूजासमेत गर्दै आएको स्थानीय वीरेन्द्र यादवले बताए ।

नहर छेउको खेतको दुलोबाट दैनिक बिहान १० बजे निस्केर अपरान्ह ३ बजेसम्म एउटै स्थानमा बस्नेगरेको गाउँलेले बताएका छन् । उक्त सर्पलाई विज्ञहरुले मोनोक्लड कोब्रा भनेका थिए ।

स्थानीयको अनुरोधमा केही दिनअघि त्यहाँ पुगेकी मौलापुर नगरपालिकाकी मेयर रिना कुमारी साहले उक्त स्थानमा नाग देवताको मन्दिर निर्माण गर्ने घोषणा गरेकी थिइन् ।

यस्तै नाग देवता भनिएको उक्त सर्प जस्तै केही समयअघि कटहरियामा पनि देखिएको थियो । उक्त सर्पलाई ब्लेक कोबरा भनिएको थियो ।

यसअघि जिल्लाको उत्तरी भेग गुजरा नगरपालिका अन्तर्गत जंगलमा नाग देवता देखिएको भन्दै दैनिक हजारौं मानिसको भीड लागेको थियो ।

गुजराका मेयर सन्तलाल चौधरीले नाग निस्कने स्थान पुलको छेउ जंगलमा मन्दिर निर्माणको लागि शिलान्यास गरेका थिए । शिलान्यासको केहीदिन पछि उक्त स्थानमा एक महिनादेखि देखिँदै गरेको सर्प आउन छोडेपछि मन्दिर निर्माण हुनसकेन ।

धेरै पढिएका

पछिल्ला अपडेट