हिटलर चरित्र निर्वाह गर्न चाहन्छु : हरिवंश आचार्य

रंग नेपाल २०८० फागुन २१ मा प्रकाशित

काठमाडौं । अभिनेता हरिवंश आचार्य आगामी चैत ९ गते रिलिज हुने फिल्म ‘महाजात्रा’मा खलनायकको चरित्रमा देखिँदैछन् । फिल्मको फस्र्टलुक र टिजरमा उनलाई भिलेनका आंशिक रुप देखाइरहँदा आइतबार सार्वजनिक ट्रेलरमा उनको विस्तृत झलक देखाइएको छ ।

ट्रेलर सार्वजनिकपछि हरिवंशले आफ्नो ‘भिलेन’ अनुभव सुनाए । ‘फिल्मका लागि ‘हिरो’ र ‘भिलेन’ दुवै चरित्र आवश्यक छ । जसरी बत्ति बाल्नका लागि पोजेटिभ र नेगेटिभ तार चाहिन्छ । त्यसरी नै फिल्मको बत्ति बाल्नका लागि पनि हिरो र भिलेन आवश्यक पर्छ,’ उनले भने ।

हरिवंशले फिल्ममा अझ दमदार ‘भिलेन’को भूमिकामा अभिनय गर्ने इच्छा रहेको सुनाए । ‘म हिटलर चरित्र निर्वाह गर्न चाहन्छु । किनकी मैले हरिबहादुरको जस्तो चरित्र पनि निभाएँ । त्यसकारण अझ शक्तिशाली चरित्रमा आफूलाई उभ्याउन चाहन्छु,’ उनले भने ।

हरिवंशका अनुसार नकारात्मक चरित्र खेल्दा उनले ढुंगाको चोट पनि खाएका छन् । ‘म गुहेश्वरी मन्दिरमा पुग्दा त्यहाँ फूल बेच्ने एक महिलाले मलाई ढुंगाले नै हिर्काउनुभयो । किनकी मैले नकारात्मक चरित्र निर्वाह गर्दा त्यो उहाँलाई मनपरेको रहेनछ,’ उनले आफ्नो किस्सा सुनाए ।

हरिवंशले ‘महाजात्रा’मा राम्रो मान्छे कसरी नराम्रो बन्छ भन्ने कुरा आफ्नो चरित्रमा दर्शकले हेर्न पाउने बताए । ‘मेरो चरित्र देशलाई भीरबाट खसाउने खलपात्रको छ,’ उनले भने ।

‘महाजात्रा’का लेखक तथा निर्देशक प्रदीप भट्टराईले बेरोजगार युवालाई राजनीतिक दलका नेताले कसरी दुरुपयोग गरेका छन् भनेर देखाउनका लागि ‘महाजात्रा’ बनाएको खुलाए । ‘म सिक्वेलभन्दा अलिक फरक कथामा फिल्म बनाउन चाहन्थें ।  ‘जात्रा’ र ‘जात्रैजात्रा’ पछि अलिक फरक कथामा फिल्म बनाउन मन थियो । तर युवालाई कसरी नेताले दुरुपयोग गरिरहेका छन् भन्ने कुरा दिमागमा आएपछि ‘महाजात्रा’ लेखें,’ उनले भने ।

ट्रेलरमा बेरोजगार युवाहरुका पैसा कमाउने चाहना र पैसा कमाउनका लागि उनीहरु कुन हदसम्म काम गर्छन् भन्ने कथा देखाइएको छ ।

फिल्ममा हरिवंश आचार्य, रवीन्द्रसिंह बानियाँ, रवीन्द्र झा अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको पनि अभिनय छ ।

म्याक्स दीपेश खत्रीसँगै यज्ञश्वर पौडेल निर्माता रहेको फिल्मको अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार एमएसएम इन्टरटेनमेन्टले खरिद गरेको छ । फिल्ममा जितबहादुर रुवालीको सहायक निर्देशन, पुरुषोत्तम प्रधानको छायाकार, कुमार महर्जनको द्वन्द्व, कविराज गहतराजको नृत्य, आशिष अविरलको संगीत, शमशेर लामा शृंगार र रूपकप्रताप अधिकारीको प्रोडक्सन डिजाइन छ ।

धेरै पढिएका

पछिल्ला अपडेट