दश सहरमा अस्करको ‘सिनेमा साक्षरता अभियान’

रंग नेपाल २०८० चैत १४ मा प्रकाशित

काठमाडौं । दुई दशकदेखि नेपालमा फिल्म शिक्षा प्रदान गरिरहेको अस्कर कलेजले देशव्यापी ‘सिनेमा साक्षरता अभियान’ सञ्चालन गर्ने भएको छ ।

आज चैत १४ देखि २५ सम्म सञ्चालन हुने अभियान पूर्वी नेपालदेखि पश्चिम नेपालसम्मका प्रमुख १० सहरमा गर्न लागिएको कलेजले जनाएको छ ।

पूर्वको बिर्तामोडबाट सुरु हुने अभियान विराटनगर, इटहरी, जनकपुर, हेटौंडा, चितवन, बुटवल, दाङ, धनगढी हुँदै पोखरामा आएर टुङ्गिनेछ ।

कलेजका प्राध्यापक रामराजा दाहालले नयाँ पुस्तालाई फिल्म सम्बन्धी आधारभुत जानकारी दिने र उनीहरुमा फिल्मप्रति रुचि जगाउने उद्देश्यले अभियान सञ्चालन गरिएको बताए । ‘फिल्मका धेरै गतिविधि काठमाडौं केन्द्रित भएकोले काठमाडौं बाहिर यस्ता कार्यक्रम गरिराख्नुपर्ने खाँचो महसुस गरेर यो अभियान गरेको हो ।’ उनले भने ।

उनका अनुसार प्लस टु सकेर स्नातक तहमा के पढ्ने भन्ने सोचिरहेका विद्यार्थीहरुलाई लक्षित गरी सञ्चालन गरिएको अभियानमा हरेक सहरमा एक दिने कार्यशालामार्फत फिल्म शिक्षाका विविध पक्षबारे प्रशिक्षण दिइनेछ ।

कार्यशालामा फिल्म सम्बन्धी प्रश्नोत्तर, अभिनयका अभ्यास, फिल्म इतिहास, चरित्रबारे जानकारी दिइनेछ ।

कार्यशालामा वास्तविक जीवनमा देखिएका चरित्रको उदाहरण दिँदै घटना परिघटना जोड्दै सहभागी विद्यार्थीहरुले तत्कालै एउटा कथालाई कसरी पटकथामा रुपान्तरण गर्ने कुरा पनि सिकाइनेछ । कागजमा लेखिएका कुरालाई कसरी श्रव्यदृश्यमा रुपान्तरण गर्ने भनेर त्यहीँ प्रयोगात्मक अभ्यास पनि गरिने प्राध्यापक दाहालले बताए । कार्यक्रममा कलेजबाट दीक्षित र पढिरहेका विद्यार्थी गरी दुई जनाको फिल्मसमेत देखाइने छ ।

धेरै पढिएका

पछिल्ला अपडेट