काठमाडाैं । महाशिवरात्रिको अवसरमा प्रदर्शन हुन लागेको सिनेमा ‘रेशम फिलिली’को दोस्रो श्रृंखला ‘फेरि रेशम फिलिली’को बुकिङ खुलेको छ । यो समाचार तयार पार्दासम्म सिनेमाले देशभर ८६ शो प्राप्त गरिसकेको छ । अन्य दुई सिनेमासँगै रिलिज भइरहेको सन्दर्भमा यो संख्या उत्साहजनक मान्न सकिन्छ । यसका लागि सिनेमाको ट्रेलर र गीतहरूको लोकप्रियताले ठुलो भूमिका खेलेको छ ।
प्राप्त ८६ शो मध्ये सिनेमाले काठमाडौं उपत्यकामा ४६ शो र बाहिर ४० शो पाएको छ । यो संख्या खल्ती मोबाइल एप मा देखिएको तथ्यांक हो । समाचार तयार पार्दासम्म खुलिसकेको हलहरूको आधारमा, भोलि मध्यान्हसम्म थप हलहरूमा शो निर्धारण भएपछि ‘फेरि रेशम फिलिली’ले १५० भन्दा बढी शो पाउने सम्भावना छ, जुन निकै उत्साहप्रद देखिन्छ ।
२०७२ सालमा पहिलो पटक प्रदर्शन भएको ‘रेशम फिलिली’ले आफ्नो ओपनिङ कलेक्सनमा कीर्तिमान कायम गरेको थियो । तर, भोलिपल्ट आएको विनाशकारी भूकम्पका कारण प्रदर्शन स्थगित भएर केही समयपछि पुनः रिलिज गरिएको थियो । त्यतिबेला फरक शैलीको कमेडी प्रस्तुत गरेको भन्दै चलचित्रको प्रशंसा गरिएको थियो ।
करिब ९ वर्षपछि सिक्वेल आउने भएकाले दर्शकमाझ कौतुहलता बढेको छ । यो पटक सिनेमाले मुख्य पात्र रेशमले अमेरिकाको भिसा पाएपछि उत्पन्न परिस्थितिको कथा प्रस्तुत गरेको छ ।
सिनेमामा विनय श्रेष्ठ, सुपुष्प भट्ट, कामेश्वर चौरासिया, नीर शाह, प्रकाश घिमिरे, शिशिर वाङ्देल, रविन्द्र झा, लक्ष्मी गिरी, महेश त्रिपाठी, एवनराज उप्रेती, मेक्सम गौडेल, सजन थापा लगायतका कलाकारहरूको अभिनय रहेको छ ।
सुसन प्रजापती को छायांकन, निरोज महर्जन र आकाश बराल को पटकथा, नरेश किङ्ग योगी को द्वन्द्व निर्देशन तथा कालीप्रसाद बाँस्कोटा, एसडी योगी, हर्क साउद, जयन जे वाइवा र दीपक शर्मा को संगीत रहेको छ । सिनेमाको सम्पादन सुरेन्द्र पौडेल ले गरेका छन् ।
सिनेमा आर्ट र वि मोसन पिक्चर्स को सहकार्यमा निर्माण भएको सिनेमाका रौनक विक्रम कडेल निर्माता हुन् भने कार्यकारी निर्माता सुरज बम ठकुरी तथा सह-निर्मातामा एनि थापा रहेका छन् ।
सिनेमाको निर्देशन निरोज महर्जन ले गरेका हुन्, जसले कथासमेत लेखेका छन् ।
सिनेमाको पोस्टर डिजाइन ट्राइडेन्ट कन्सेप्टका रोयल भिमसेनले गरेका हुन् । सिनेमालाई गोविन्द शाहीको काफिया फिल्म्स र कुवेर सिने डिस्ट्रीब्युसनले वितरण गर्दै छन् ।