काठमाडौं । नेपाली चलचित्र ‘लाज शरणम्’ प्रदर्शनको १०० औँ दिनमा प्रवेश गरेको छ । गत वर्षको फागुन १४ गते सार्वजनिक प्रदर्शन भएको चलचित्रले काठमाडौंको न्युरोडमा रहेको रञ्जना सिनेप्लेक्स चलचित्र भवनमा प्रदर्शनको एकसय दिन पूरा गरेको निर्माता नवीन श्रेष्ठले जानकारी दिए ।
उनले भने, ‘पहिलो चलचित्रमा प्राप्त गरेको मायाप्रति म निकै आभारी छु । समसामयिक विषयलाई समेटेर चलचित्र निर्माण गरेकै कारण दर्शकले रुचाउनुभयो, यसले हौसला र दायित्व दुवै थपेको छ । आगामी दिनमा थप राम्रो गर्ने प्रयास हुनेछ ।’
निर्माता श्रेष्ठले आगामी चलचित्र ‘पाँच पाण्डव’ निर्माण गर्ने घोषणा गरेका छन् । चलचित्रको पटकथा सुशील पौडेलले तयार गरिरहेका छन् भने वसन्त निरौलाले निर्देशन गर्ने छन् । चलचित्र आगामी भदौ आसपासमा छायाङ्कन गर्ने तयारी गरिएको श्रेष्ठले बताए ।
उनले ‘लाज शरणम् २’ नामक चलचित्र पनि निर्माणको तयारी भइरहेको जानकारी दिए । डिजिटल प्रविधिमा चलचित्र हुने समयमा ‘लाज शरणम्’ले प्रदर्शनको सय दिनु पूरा गर्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
उक्त चलचित्रमा सीताराम कट्टेल, विजय बराल, अर्पण थापा, महेश त्रिपाठी, मुकुन्द श्रेष्ठ, विजय लामा, रेणुनाथ योगी, सागर लम्साल, हरि निरौला, अर्जुन घिमिरे, कमलमणि नेपाल, प्रियाना आचार्य, दयाहाङ राई र बुद्धि तामाङलगायतले अभिनय गरेका छन् । कुमार कट्टेल (जिग्री)ले चलचित्रमा निर्देशन गरेका हुन् ।