काठमडौं । भारतीय अभिनेत्री तथा नृत्याङ्गना नोरा फतेही नेपाल आउनेृ भएकी छन् ।
सामाजिक संस्था ‘ह्युमन रेस्पेक्ट नेपाल’को सहयोगार्थ आयोजना हुने च्यारिटी कार्यक्रमका लागि अभिनेत्री फतेही नेपाल आउन लागेको आयोजक वल्र्डवाइड फिल्मस् नेटवर्क प्रालिले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।
संस्थाका अध्यक्ष देव मगरका अनुसार शिक्षाबाट वञ्चित बालबालिकाको क्षेत्रमा काम गर्दै आएको सामाजिक संस्था ‘ह्युमन रेस्पेक्ट नेपाल’को सहयोगार्थ च्यारिटी कार्यक्रमका लागि अभिनेत्री फतेही नेपाल आउन लागेकी हुन् । उनले भने, ‘मनोरञ्जनमार्फत सामाजिक कार्यलाई सहयोग गर्ने उद्देश्यले हामीले यो कार्यक्रम गर्न लागेका हौँ ।’
आगामी जेठ ३ गते ‘नोरा फतेही लाइभ इन नेपाल’ कार्यक्रम आयोजना हुने भएको हो ।
नेपाल आउन र नेपालीलाई भेट्न आफू उत्साहित रहेको अभिनेत्री फतेहीले बताएकी छन् । उनले एक श्रव्यदृश्य सन्देशमार्फत आफू पहिलो पटक नेपाल आउने र यहाँबाट अहिलेसम्म प्राप्त गरिरहेको मायाका लागि धन्यवाद व्यक्त गर्दै आफ्नो प्रस्तुति दिने बताएकी छन् ।
‘म काठमाडौं आउन उत्साहित छु, यो मेरो पहिलो भ्रमण हुनेछ, सामाजिक कार्यका यो कार्यक्रमलाई सफल बनाउन सबैलाई आग्रह गर्दछु’, उनले भनेकी छन् । इभेन्टको व्यवस्थापन मनु मिडिया प्रालिले गर्नेछ । अभिनेत्री फतेहीको ‘दिलबर दिलबर’, ‘कुसु कुसु’, ‘ओ साकी साकी’, ‘नाच मेरी रानी’, ‘स्नेक डान्स’लगायत गीत लोकप्रिय छन् ।
कार्यक्रममा नेपाली कलाकारहरु दुर्गेश थापा, नृत्याङ्गना तेरिया फौजा मगर, नृत्यकार समर्पण लामालगायतले प्रस्तुती दिने आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो । कार्यक्रमको टिकट ‘खल्ती’ एपमा उपलब्ध रहेको आयोजक तथा कार्यक्रम संयोजक मनिष कार्कीले जानकारी दिए ।