मुम्बई । भारतीय चर्चित नायिका पुनम पाण्डेदेखि नायिका शिल्पा सेट्टीका पति राज कुन्द्रा यतिबेला अश्लील सामग्री उत्पादन गरेका कारण कानुनी फन्दामा परेका छन् ।
बलिउड अभिनेत्री शिल्पा सेट्टीका पति राज, मोडल पुनम पाण्डे र शर्लिन चोपडा तथा उमेश कामतलाई अश्लिल सामग्री उत्पादन गरी ओटिटी प्लेटफर्मबाट देखाएको मुद्दामा धरौटी बुझाएका छन् ।
आरोपितहरूले आफूहरूमाथि लगाइएका मुद्दा खारेजीको माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।
साइबर कानुनअन्तर्गत महाराष्ट्र प्रहरीले उनीहरूविरुद्ध मुद्दा दायर गरेको थियो । महाराष्ट्र प्रहरीका अनुसार उनीहरूले सार्वजनिक मर्यादा भङ्ग गर्दै अश्लील भिडियो खिचेर ‘हटसट’ नामको मोबाइल एप्लिकेसनमार्फत वितरण गरेका थिए । तर, उनीहरुलाई तत्काल हिरासतमा भने जान नपर्ने भएको छ ।
सर्वोच्च अदालतका न्यायाधीश केएम जोसेफ र बिभी नागरथनाको इजलासले आवश्यक परेका बेला अनुसन्धानमा सहयोग गर्न आदेश दिँदै नियमित जमानतका निम्ति मुम्बइ ट्रायल कोर्टमा सुझाएको छ ।