७२ औं जन्मदिन मनाउँदै सुपरस्टार रजनीकान्त

रंग नेपाल २०७९ मंसिर २६ मा प्रकाशित

काठमाडौं । साउथका सुपरस्टार रजनीकान्तले आज आफ्नो ७२ औं जन्मदिन मनाउँदै छन् । यस अवसरमा उनलाई फ्यानसँगै सेलिब्रेटीहरुले पनि जन्मदिनको शुभकामना दिइरहेका छन् ।

१२ डिसेम्बर १९५० मा बैंगलोरमको  मध्यमवर्गीय परिवारमा जन्मिएका रजनीकान्तले आफ्नो उत्कृष्ट प्रदर्शन र अनौठो स्टाइलले साउथ इन्डस्ट्रीमा मात्र नभई पुरै भारतमा आफ्नो पहिचान बनाएका छन् ।

रजनीकान्तको वास्तविक नाम शिवाजी राव गायकवाड हो । घरको कमजोर आर्थिक अवस्थाको कारण रजनीकान्तले सानै उमेरमा भरियाको काम गर्न सुरु गरेका थिए । यसपछि उनले सिकर्मीको रूपमा काम गरे र लामो समयसम्म बैंगलोर ट्रान्सपोर्ट सर्भिसमा बस कन्डक्टरको रूपमा समेत काम गरे ।

सन् १९७३ मा मद्रास फिल्म इन्स्टिच्युटमा भर्ना भएका रजनीकान्तले अभिनयमा डिप्लोमा गरे । १९७५ मा रजनीकान्तको पहिलो फिल्म अपूर्व रागांगल रिलिजपछि उत्कृष्ट अभिनयकै कारण उनी दर्शकको रुचीमा पर्न सफल भएका थिए ।

उनले साउथमा मात्र नभइ बलिउडमा समेत अभिनय सुरु गरे । सन् १९८३ मा रिलिज भएको फिल्म ‘अन्धा कानून’ बाट रजनीकान्तले बलिउडमा डेब्यू गरे । यो फिल्ममा उनीसँगै हेमा मालिनी र अमिताभ बच्चन पनि देखिएका थिए । उनको फिल्म सुपरहिट भयो र बलिउडमा पनि उनको थप चर्चा बढ्यो । त्यसपछि रजनीकान्तले बलिउडका धेरै सुपरहिट फिल्ममा काम गरे ।

रजनीकान्तलाई सन् २००० मा पद्मभूषणबाट सम्मानित गरिएको थियो ।

यसैगरी उनलाई ४५ औं अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल अफ इन्डिया (२०१४) मा वर्षको भारतीय फिल्म व्यक्तित्वको शताब्दी पुरस्कार पनि प्रदान गरिएको थियो । रजनीकान्त चलचित्र जगतको सबैभन्दा ठूलो सम्मान दादासाहेब फाल्के अवार्डबाट पनि सम्मानित भएका थिए ।

धेरै पढिएका

पछिल्ला अपडेट