‘मोडल हन्ट नेपाल २०२२’का लागि आवेदन खुल्यो

रंग नेपाल २०७९ जेठ १७ मा प्रकाशित

काठमाडौं । मोडल हन्ट नेपालको सातौं संस्करण सुरु भएको छ । आयोजक नेक्स्ट मोडल्स नेपालले सोमबार विज्ञप्ति जारी गर्दै सन् २०२२ को संस्करणको लागि आवेदन खुल्ला भएको जानकारी दिएको छ ।

१८ देखि २८ वर्ष उमेर समूहका युवायुवतीले सहभागिता जनाउन सक्ने प्रतियोगितामा युवकको हकमा कम्तीमा ५ फिट ६ इन्च र युवतीको हकमा कम्तीमा ५ फिट २ इन्च उचाई हुनुपर्ने प्रावधान छ ।

प्रतियोगिताको अडिसन असार ४ गतेदेखि साउन अन्तिम सातासम्म हुनेछ । अडिसनबाट छानिएका प्रतियोगीले फाइनलमा सहभागी हुन पाउन नेक्स्ट मोडल्सका अध्यक्ष रवि धमलाले बताए ।

फाइनल स्पर्धाका लागि छानिएका प्रतियोगीलाई व्यक्तित्व विकास, शारीरिक बनावट, र्‍याम्प वाक, बडी ल्याङ्ग्वेज, फोटोसुट, एक्सप्रेसन लगायतका ग्रुमिङ कक्षामा सहभागी गराइनेछ ।

प्रतियोगिताको विजेताले ५ लाख रुपैयाँ बराबरको उपहारसहित १ देखि १५ सेप्टेम्बरसम्म थाइल्याण्डमा आयोजना हुने अन्तर्राष्ट्रिय मोडलिङ प्रतियोगिता ‘सुपर मोडल इन्टरनेसनलमा’ नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्नेछन् ।

नेक्स्ट मोडल्सकी कार्यकारी निर्देशक यत्ना पाण्डेले महिलाहरुको हकहित संरक्षण, उनीहरुको सुरक्षाको प्रत्याभूति गराउन आफूहरुले मिहिनेत गर्ने बताइन् । ‘सौन्दर्य प्रतियोगिताका आयोजक महिला पनि छन् । जसले महिलाको सुरक्षामा हरसम्भव प्रयास गरिरहेका छन्,’ पाण्डेले भनिन् ।

धेरै पढिएका

पछिल्ला अपडेट