डर लाग्छ ? यी पाँच उपायले हटाउनुस्

रंग नेपाल २०७९ असार १६ मा प्रकाशित

-एसपी उप्रेती

काठमाडौँ । डर एक संवेग हो । यो सबै उमेर समूहका मानिसहरुलाई हुने गर्दछ । यो स्वभाविक पनि हो ।

मानिसहरुलाई डर धेरै किसिमको हुन सक्छ । जस्तै, बालबालिकालाई भूतको डर हुन्छ । व्यापार व्यवसाय गर्नेलाई घाटा हुने डर । जागिर गर्नेलाई काम विग्रने वा जागिरै जाने डर होला । मर्ने डर आदि डर हुने गर्दछ ।

कतिपय असामान्य सामान्य डर लाग्नु विलकुलै साधारण हो । त्यो केही समयपछि आफैँ हराएर जान्छ । पुनः आफ्नो जीवनको रफ्तार सहज हुँदै जान्छ । तर कतिपय घटनाहरुले सधैँ डर लागिरहन्छ ।

आफ्ना दैनिक कार्यहरु नै प्रभावित बनाउँछ । सम्बन्धमा दरार ल्याउन भूमिका खेल्छ आदि भने त्यस्तो समस्याबाट छुटकारा पाउन तर्फ सोच्नुपर्दछ । जसका लागि मनोपरामर्शदाता कहाँ जानुपर्दछ ।

पछिको परिणाम सोचेर हुने अत्यास वा त्रास डर हो । डरले कुनै पनि व्यक्तिलाई व्यक्तित्व विकास वा लक्ष्य प्राप्तिमा अवरोध गर्छ । डरलाई नियन्त्रण गर्न नसक्दा मानिसको आत्मविश्वासमा कमी आएर जीवनका धेरै आयामहरुमा प्रभाव पार्न सक्दछ ।

त्यस्तै, हरेक कुरामा डर हुँदा पछि गएर मानिसको मानसिक अवस्थामा गडबडी हुन सक्छ ।

तर आम जीवनमा हुने डरलाई नियन्त्रण वा कम गर्न सकिन्छ । जसका लागि आज यहाँ डरलाई कम गर्ने पाँच वटा उपायहरु प्रस्तुत गरिएको छ ।

१. सकारात्मक सोचः

सामान्यतया सकारात्मक सोचमा रहने मानिसहरुमा डरको अवस्था कम हुन्छ । जीवनमा हिजो जे भयो राम्रै भयो अब जे हुन्छ राम्रै हुन्छ भन्ने भावनाका साथ अघि बढ्दा आफूमा डर कम हुने गर्दछ ।

तसर्थ सधैँ सकारात्मक बन्ने प्रयासमा लाग्नुस् । जसका लागि पुस्तक पढ्ने, साथीसँग रमाइलो गर्ने, कुनै पनि समस्याको समाधानमा केन्द्रीत हुने, आफू जिम्मेवार बन्ने, योग ध्यान साधना आदि कुराहरुले मानिसलाई सकारात्मक बनाउन सहयोग गर्दछ ।

२. ध्यान गर्नुस्ः

मानिसहरु शान्त बस्न सक्दैनन् । यस पछाडि पनि धेरै कारण होलान् । तर एक दिनको समयमा आफूले व्यवस्थापन गर्दा जुन बेला सकिन्छ त्यस बेला ध्यानमा बस्न सकिन्छ । यसो गरेको खण्डमा अनावश्यक धेरै सोचहरु नियन्त्रित हुन सक्छन् । धैर्य गर्ने क्षमता बढ्न सक्छ । आत्मविश्वास पनि बढ्छ । यी सबै कुराहरुले डर कम गराउन मद्दत गर्दछ ।

३. रिल्याक्शेसनः

यो पनि करिब ध्यान जस्तै हो । तर ध्यानमा शान्त बसेर गर्न सुझाव दिइन्छ जबकी रिल्याक्शेसन जहाँ जसरी बसेर वा उठेर गर्दा पनि हुन्छ । ध्यान लामो समयको लागि भनेर बुझिन्छ भने रिल्याक्शेसन तपाईँले केही समय मात्रै गर्न सक्नुहुन्छ । तर यसका अनगिन्ती फाइदाहरु रहेका छन् । जब जब तपाईँलाई डर अत्यास महसुस हुन्छ तब तपाईँले गहिरो र लामो लामो श्वास लिने र छोड्ने गर्नुस् । त्यस क्रममा आफ्नो नाकको टुप्पोमा ध्यान केन्द्रीत गर्नुस् । जसले तपाईँलाई तुरुन्तै डरबाट मुक्ति दिन सक्छ ।

४. अध्ययन गर्नुस्ः

डर आत्मविश्वासको कमीले गर्दा आउन सक्छ भने डरले आत्मविश्वास कमी हुन सक्छ । तसर्थ यी दुवैलाई केही हदसम्म भए पनि सहयोग गर्ने भनेको अध्ययन हो । आफूलाई मन पर्ने पुस्तक पढ्ने, सुन्ने गर्नुस् जसले तपाईँको डरबाट छुटकारा पाउन मद्दत गर्दछ ।

५. शारीरिक अभ्यासः

नियमित रुपमा शारीरिक अभ्यास गर्नाले पनि मानिसको डरको तह कम हुन सक्छ ।

धेरै पढिएका

पछिल्ला अपडेट