बियरले कसरी बढाउँछ आन्द्रामा राम्रो ब्याक्टेरियाको मात्रा ?

रंग नेपाल २०७९ असार २२ मा प्रकाशित

काठमाडौँ । हरेक दिन खाना खाएपछि बियर सेवन गर्नाले स्वास्थ्यमा सुधार आउन सक्ने एक अध्ययनले देखाएको छ । पोर्चुगलको नोभा युनिभर्सिटी लिस्बनका वैज्ञानिकहरूले गरेको अनुसन्धानले यस्तो देखिएको हो ।

उनीहरूको अनुसन्धानमा देखिएअनुसार हरेक दिन बेलुकीको खानामा बियर पिउनाले पुरुषको आन्द्रामा राम्रा ब्याक्टेरियाको मात्रा बढ्छ । यो फाइदा अल्कोहलिक र नन अल्कोहलिक दुवै किसिमको बियरबाट लिन सकिने उक्त अनुसन्धानले जनाएको छ ।

यसबारे अनुसन्धान गर्नका लागि १९ जना वयस्क पुरुषहरूलाई सहभागी गराइएको थियो । उनीहरूको औसत उमेर ३५ वर्ष थियो । सबैलाई चार हप्तासम्म राती खानासँगै दैनिक ३ सय २५ मिलिलिटर बियर पिउन लगाइयो । अनुसन्धानमा सहभागीमध्ये केहीलाई अल्कोहलिक र केहीलाई नन एल्कोहलिक बियर दिइएको थियो ।

एल्कोहलिक बियरमा रक्सीको मात्रा ५।२ प्रतिशत थियो । यस प्रकारको बियरलाई ‘स्ट्रोङ क्याटागोरी’ मा राखिन्छ । परिक्षण गरेको चार हप्तापछि यी सबै पुरुषहरूको रगतको स्याम्पल लिइयो ।

जर्नल अफ एग्रीकल्चरल एण्ड फूड केमेस्ट्रिीमा प्रकाशित यस अनुसन्धानको नजितामा जनाइएअनुसार बियर पिउँदा आन्द्रामा राम्रो ब्याक्टेरियाको मात्रा बढ्ने देखियो । यी ब्याक्टेरिया आफैंमा विविध छन् जसले सम्पूर्ण पाचन प्रणालीको स्वास्थ्यमा सुधार ल्याउन मद्दत गर्छन् ।

वैज्ञानिकहरूका अनुसार दैनिक बियर पिउनाले वजन बढ्दैन । यसले रगत, मुटु र मेटाबोलिजममा पनि समस्या नल्याउने उनीहरूको दाबी छ ।

बियरले कसरी बढाउँछ राम्रो ब्याक्टेरियाको मात्रा ?

वैज्ञानिकहरूका अनुसार बियरमा पोलिफेनोल नामक यौगिकहरू र सड्ने प्रक्रियापछि बन्ने सूक्ष्म जीवहरू हुन्छन् जसले आन्द्रामा राम्रो ब्याक्टेरियाका मात्रा बढाउनमा मद्दत गर्छन् । स्वास्थ्य विज्ञहरूका अनुसार शरीरमा ब्याक्टेरियाको विविधता हुनु जरुरी छ । त्यसो नहुँदा मुटुरोग र मधुमेहजस्ता धेरै स्वास्थ्य समस्या निम्तिने खतरा हुन्छ ।

धेरै पढिएका

पछिल्ला अपडेट